झापा, ३१ बैशाख । झापाको हल्दिबारी गाउँपालिकामा गएराति एक पुरुष मृत फेला परेका छन् ।

हल्दिबारी–२ आसमानबारीका ४२ वर्षीय दिलबहादुर राजवंशी शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

दिलबहादुर राति शौचालय गएका थिए । उनका दाजु राजकुमार राजवंशी शौचालय जाँदा भित्रबाट ढोका बन्द रहको र धेरै समयसम्म पनि ढोका नखोलेपछि टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराएको प्रवक्ता खड्काले बताउनुभयो ।

शौचालयको ढोका भित्रबाट चुकुल लगाएको र खोलेर हेर्दा शौचालय बसेकै ठाउँमा मृत अवस्थामा दिलबहादुर फेला परेका हुन् । कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।