अहिले रोजगारीका लागि विदेशिने युवाको संख्या बढ्दो छ । स्वदेशमै रोजगारीको अवसर नहुँदा दैनिकजसो सयौं युवा खाडीको चर्को घाममा पसिना बनाउन जान बाध्य छन् ।

बढ्दो युवा पलाउन रोक्न झापाको कनकाई नगरपालिकाले युवालाई आत्मनिर्भर बनाउने अभियान अन्तर्गत कनकाईमा युवालाई  सीप सिकाएर आत्मनिर्भर बनाईरहेको छ। कनकाई नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत यहाँका युवालाई सीपमूलक तालिम प्रदान गरेको हो।

image-18

युवालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत यहाँका ४० जना युवालाई इलेक्ट्रिसियन र प्लम्बिङ प्रदान गरिएको नगरपालिकाका रोजगार शाखा प्रमुख सरोज मैनालीले जानकारी दिनुभयो ।

५० दिने तालिममा ४० दिने सैद्धान्तिक र प्रयोगात्मक तालिम प्रदान गरिएको छ भने १० दिने उद्यमशीलता विकास तालिम प्रदान गरिरहेको उहाँले बताउनुभयो ।

“प्रशिक्षार्थीलाई न्यूनतम् दैनिक ज्याला दिएर तालिम दिइरहेका छौं”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री स्वरोगार कार्यक्रम अन्तरगत युवालाई सधैं रोजगार बनाउने लक्ष्यका साथ नगरपालिकाले तालिम दिन थालेको हो ।”

सहभागीलाई दैनिक रू छ सय ६८ भत्ता समेत प्रदान गरिएको छ । प्रशिक्षार्थीले तालिममा सहभागी भएको आधारमा दैनिक भत्ता प्रदान गरिने छ भने उक्त भत्ताबाट उनीहरुले आवश्यक सामग्री खरिद गर्न सहयोग पुग्ने मैनालीले बताउनुभयो ।


इलेक्ट्रिसियन तालिमका प्रशिक्षक दीपेन्द्र बिमलीले सीटीईभीटीको ए लेभल तहको तालिम प्रदान गरिएको बताउनुभयो ।

image-19

“बिल्डिङ इलेक्ट्रिसियन र फेन बनाउन सक्ने गरी तालिम दिइएको छ”, उहाँले भन्नुभयो, “सहभागीहरु काम गर्न सक्ने भएका छन् ।” युवाहरुले स्वदेशमै रोजगार बन्न सक्ने बताउनुहुँदै उहाँले विदेश जान चाहनेहरुलाई तालिमले सहयोग मिल्ने उहाँले बताउनुभयो ।


प्रशिक्षार्थी कनकाई–८ का अग्नि दाहालले बेरोजगार भएर दिन बताउँदै आएकोमा तालिमले स्वरोजगार बन्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो । “धेरै सिकियो काम गर्न सक्ने भएको छु”, उहाँले भन्नुभयो, “नगरले तालिमको अवसर प्रदान गरेको धन्यवाद दिन्छु ।”


कनकाई–८ लक्ष्मीपुरका सुमन साँवा लिम्बूले युवालाई चाहिने खालको तालिम प्रदान गरिएको बताउनुभयो । “हामीले सीप सिक्यौं, अब स्वदेशमै केही काम गर्न सक्ने भएका छौं”, उहाँले भन्नुभयो, “सीपले आत्मनिर्भर बन्न सक्ने बनाएको छ ।”


तालिमका प्रशिक्षार्थी कनकाई–४ का केदारनाथ दाहाले तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभयो । नगरले अझ उपल्लो तहको तालिम दिनुपर्ने उहाँको भनाइ छ ।

कनकाईका नौ वटै वडाका दुई÷दुई जना युवालाई छनोट गरेर स्वदेशमै गरिखाने बनाउन प्लम्बर र इलेक्ट्रिसियन तालिम दिइएको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभएको थियो ।

“बढ्दो युवा पलायनलाई रोक्न जरुरी छ”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “युवालाई सीपयुक्त बनाउन सके स्वदेशमै टिकाउन सकिन्छ भने विदेशमा पनि राम्रो अवसर प्राप्त गर्न सक्नेछन् ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने स्वदेशै रोजगार बन्न तालिम दिइएको बताउनुभयो ।

तालिम लिन मानिसहरु प्रतिस्पर्धा गर्ने तर सिकेको सीपलाई व्यवहार नउतार्ने काम पनि भएरकाले प्रशिक्षार्थीले आफूले सिकेको सीप व्यवहारमा लागु गर्न कुनै कसर बाँकी नराख्न उहाँले आग्रह गर्नुभयो ।

कनकाई नगरपालिकाको रू आठ लाख ५० हजारको लगानीमा पाथीभरा प्रोफेसनल एजुकेसन प्रालिको प्राविधिक सहयोग गरेको थियो ।