काठमाण्डाै – साहित्यकार, गायक एवम् सङ्गीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको बिहान साढे ११ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
रसिकको शव आज त्रिवि शिक्षण अस्पतालमा राखिनेछ । लन्डनमा रहेकी उहाँकी छोरी भोलि नेपाल आइपुग्ने भएकाले शिक्षण अस्पतालमा शव राखिने सङ्गीतकार वसन्त मुकारुङले जानकारी दिनुभयो ।
भोजपुरको छिनामखुमा २००४ सालमा जन्मनुभएका रसिक प्रोस्टेट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । रसिकका ‘ओ याङ्जी नाना’, ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘रातो भाले क्वाँया क्वाँया’ लगायत कालजयी गीत छन् ।
यस्तै ‘क्षितिजलाई छुन खोज्दा’ कथा सङ्ग्रह, ‘रसिकका गीतहरू’ गीत सङ्ग्रहलगायत रसिकका प्रकाशित पुस्तहरू छन् ।














