आज साउनको महिनाको पहिलो सोमबार झापाका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ ।
आज झापाको अर्जुनधाराको जलेश्वर धाम, माईधाम लगायतका शिवालयहरुमा बिहानैदेखि पूजापाठ एवम् जल चढाउने भक्तजनहरुको भीड लागेको हो । कनकाईको माई धाममा आजदेखि कनकाई आरती समेत गरिँदैछ ।
साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।
शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर काठमाण्डौको सुन्दरीजलस्थित बागमतिको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ । साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।धर्म ग्रन्थहरूमा उल्लेख गरिए अनुसार साउन महिनालाई एकदमै पवित्र महिनाको रूपमा मानिन्छ । साउन महिनामा भगवान शिव पृथ्वी भ्रमण गर्न आउने हुनाले साउन महिनामा शिव भगवानको पुजा आराधना गरिन्छ ।
साउन महिनामा सेमबारको दिन ब्रत बस्ने चलन शिव र पार्वतीको सम्बन्ध रहेसँगै सुरू भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ । श्रावण महिनालाई धार्मिक दृष्टिकोणले पनि उत्तम र पवित्र मानिन्छ । भगवान शिवलाई हरियो, रातो र पहेँलो रङ्ग मनपर्ने मान्यता भएकाले श्रावण महिनाको सुरूवात भएसँगै महिलाहरूले हरियो रङ्गका वस्त्र र चुरा पोतेहरू लगाउने गर्दछन् । हरियो रङ्गलाइ सौभाग्यको रङ्ग पनि भनिन्छ ।
श्रावण महिना हरियालीको महिना र प्रकृतिसँग आफुलाई जोड्ने महिना रहेकाले हरियो रङ्गका कपडाहरू लगाएर प्रकृतिसँग नजिक हुने गरिन्छ । जसले गर्दा प्रकृतिको साथ रहने र भाग्यमा समेत सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।














