बिर्तामोड । भरत भाबुक प्रसाई, बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरीले वातावरणप्रेमी अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्रीन डे सेलिब्रेसन  कार्यक्रम आयोजना गरेको छ ।    

 हरियालीको महत्त्व झल्काउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीरू हरियो पहिरनमा सजिएका थिए र विभिन्न शैक्षिक तथा रचनात्मक गतिविधिहरूमा सहभागी भएका थिए ।

 उनीहरूले हरियो रङका फलफूल, तरकारी तथा अन्य वस्तुहरूको पहिचान, चित्र कोर्ने जस्ता कार्यक्रम प्रस्तुत गर्दै वातावरण संरक्षणको सन्देश फैलाएका थिए ।

 कार्यक्रममा बोल्दै विद्यालयका सञ्चालक सरोज पौडेलले सानै उमेरदेखि नै बालबालिकामा वातावरणप्रेमी सोच विकास गराउन यस्ता गतिविधि आवश्यक रहेको बताउनुभयो । 

उहाँले बाल्यकालमै प्रकृति प्रतिको माया र जिम्मेवारीको भावना जागृत गराउन सकियो भने भविष्यमा वातावरणप्रेमी पुस्ता निर्माण गर्न सकिने बताउनुभयो । 

उहाँका अनुसार लिङ्कन मन्टेश्वरीले शिक्षासँगै सिर्जनात्मकता, संस्कार र सामाजिक उत्तरदायित्वका पक्षहरूमा पनि विशेष ध्यान दिँदै आएको छ ।

 कार्यक्रममा मन्टेश्वरी शिक्षक, अभिभावक तथा बालबालिकाहरुको सक्रिय उपस्थिति रहेको थियो ।

 लिङ्कन मन्टेश्वरीले यस्ता विविध दिवसहरू मनाउँदै विद्यार्थीहरूको शैक्षिक तथा समग्र व्यक्तित्व विकासमा योगदान दिँदै आएको छ ।