झापा- न्यून बर्षाका कारण गत वर्षको तुलनामा यस वर्ष झापामा धान रोपाइँ गर्न ढिलाइ भएको छ।

पर्याप्त वर्षा नहुँदा साउन ११ सम्ममा ८१.६ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ, जसका कारण १३ हजार ९८५ हेक्टर जमिन अझै बाँझै रहेको छ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार आजसम्म ६१ हजार ५७४.६९ हेक्टरमा रोपाइँ भएको छ। गत वर्ष यसै अवधिसम्म ९२.४ प्रतिशत रोपाइँ सकिएको थियो।

वर्षाको अभावमा धेरै किसानहरूले रोपाइँ गर्न नसकेको विष्टले बताए। जिल्लामा कुल ९८ हजार ७१६ हेक्टर खेतीयोग्य जमिनमध्ये ७५ हजार ५५९.१८ हेक्टरमा धान खेती हुँदै आएको छ।

 जनहितमा जारी

झापाको कुल भूभागको ५०.५३ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ, जबकि बाँकी क्षेत्रका किसानहरू आकाशे पानीमा निर्भर छन्।

मोटर प्रयोग गरेर रोपाइँ गर्ने किसानहरूले केही राहत पाए पनि आकाशे पानीको भरमा रहेका किसानहरूको खेत भने अझै बाँझै छन्। यसले धान उत्पादनमा कमी आउने चिन्ता बढाएको छ।