झापा, बिर्तामोड — कन्काई नगरपालिका–४ सुरुङ्गास्थित वचनवंशी कबीर सेवा आश्रम, जसको स्थापना वि.सं. २०२० मा श्रद्धेय प्रेमदास र स्व. कृष्णदासद्वारा भएको थियो, पछिल्ला दिनमा सार्वजनिक जग्गा अतिक्रमणको प्रयासविरुद्ध स्थानीय तहको सक्रियता र जनसहभागिताबाट कन्काई नगरपालिका संरक्षणमा जुटेको छ ।
कन्काईकोटी होममा अवस्थित यो धार्मिक तथा सामाजिक संस्था तत्कालीन देवीप्रसाद उप्रेतीको जमिनमा चार बिघा क्षेत्र फडानी गरी स्थापित गरिएको थियो।
आश्रमले वृद्ध माताहरूको सेवा गर्दै आएको छ भने समाजसेवामा समर्पित यस संस्था वि.सं. २०५२ माघ ११ मा कानुनी रूपमा दर्ता भई हालसम्म राज्यलाई निरन्तर राजस्व तिर्दै आएको छ।
पछिल्लो समय केही व्यक्तिहरूले आश्रमको जग्गा हडप्न खोजेपछि, स्थानीयवासीहरूको सहयोगमा कन्काई नगरपालिकाले त्यस क्षेत्रमा संरक्षणात्मक कदम चालेको हो।
सार्वजनिक हितमा गरिएको घेराबार र बाली लगाउन रोक लगाउने निर्णयबारे पत्रकार सम्मेलनको आयोजना गरियो, जहाँ नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले सार्वजनिक सम्पत्तिको संरक्षण नगरपालिकाको कर्तव्य भएको प्रस्ट पारे।
पोखरेलले नगरभित्र रहेका सार्वजनिक सम्पत्तिको रक्षा गर्नु स्थानीय सरकारको दायित्व भएको बताएका छन् ।
मेयर पोखरेलले उक्त कुरा वचनवंशी कवीर आश्रम कनकाई-४ ले आयोजना गरेको पत्रकार भेटघाटमा बताएका हुन् ।
वडाध्यक्ष रोशन सुवेदी, स्थानीय अगुवा खेम शिवाकोटी, शेरबहादुर प्रधानलगायतले आश्रमको स्वामित्वमा रहेको जग्गामा अनधिकृत व्यक्तिहरूको दादागिरी, माताहरूप्रति दुव्र्यवहार र धम्कीजन्य गतिविधिको निन्दा गर्दै समस्याको समाधानमा सबैको एकता आवश्यक रहेको बताए।
नगरपालिकाले अदालतसम्म पुगेको विवादका बाबजुद सार्वजनिक जग्गा संरक्षणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता दोहोर्याउँदै, विधिको शासन र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै काम भइरहेको जानकारी गराइएको छ।
कार्यक्रममा अध्यक्ष रोमबहादुर बुढाथोकीले माताको सेवामा समर्पित संस्था संरक्षणको लागि स्थानीय, राजनीतिक दल, र बुद्धिजीवी वर्गलाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्दै जनतामाथिको अन्याय भन्ने भ्रमको खण्डन गर्नुभयो।
आफूले जोतभोग गर्दै आएको जमिन उपभोग गर्न पाउनु पर्ने माग गर्दै कवीर आश्रम समितिले स्थानीय सरकार कनकाई नगरपालिकासँग लिखित अनुरोध गरेकाले नगरले आवश्यक कदम चालेको पोखरेलले बताए । कवीरको समस्यालाई नेकपा माओवादी विप्लवसँग जोड्नु गलत भएको उनको भनाइ थियो ।
सुकुम्बासी र भूमिहीन हो र को ढुकुमबासी र जालीझेली हो, यो कुरा सर्वहारा जनताको मुक्तिको लागि हिँडेको विप्लव नेतृत्वले बुझ्नुपर्ने पोखरेलको भनाइ थियो ।
वचनवंशी कवीर आश्रम कनकाई–४ का अध्यक्ष रोमबहादुर बुढाथोकीको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा पत्रकार भेटघाट कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले उक्त जमिन वचनवंशी कवीर आश्रमकै भएकाले उनीहरुले नै उपभोग गर्न पाउनु पर्ने बताएका थिए। २०६७ सालमा एमाले, माओवादी केन्द्र, नेका, राप्रपा, जनमुक्ति पार्टी, संघीय समाजवादी लगायतका दलले कविर आश्रमको जग्गा सुरक्षित हुनुपर्ने आआफ्ना पार्टीको प्याडमा लेखेर दिएका थिए ।
सो कार्यक्रममा कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले कवीर आश्रमकै जग्गा भएकाले आफूहरूले जग्गाको संरक्षण गर्न घेराबारा गरेको बताए।
जग्गा हडप्न बाह्य शक्तिको सहयोग लिएर छिमेकी गाउँपालिकाका आफूलाई प्रतिष्ठित सम्झने र जनताका नजरमा जालझेल गर्ने मानिस लागिपरेको अवस्था रहेकाले कवीर आश्रमको जग्गा संरक्षण गर्न आफूहरु अग्रसर भएको वार्ड अध्यक्ष सुवेदीले बताए ।
वडाध्यक्षहरु भीष्मभूषण सिटौला, लीलाबहादुर कटुवाल, युवराज चम्लागाईं, कार्यपालिका सदस्यहरु कृष्णमाया भुजेल, नरादेवी मगर, जनप्रतिनिधिहरू शेषराज प्रसाईं (राजु), मोहन संग्रौला, मन्दिरा दियाली, सुलभ भण्डारी, हरि राई, निर्मला खड्का, गोविन्द सुवेदी, अनिल गोयल, कविरकुटी संस्थाका उपाध्यक्ष इन्द्रकुमारी पाण्डे, सदस्यहरू टहलदास नेपाल, भूपाल मैनाली, सल्लाहकार सीताराम निरौला लगायतको उपस्थिति रहेको कार्यक्रममा संस्थाका सदस्य खगेन्द्र पाण्डे, स्थानीयहरू नन्दकुमारी मिश्र, देवेन्द्र मिश्र, धनमाया दाहाल, सुकबहादुर प्रधान, खेम शिवाकोटी, लालबहादुर ओझा, देवेन्द्र मैनाली, बलराम अधिकारी लगायतले कविर आश्रमको २ बिगाहा १६ कठ्ठा जग्गा संरक्षण गरिनुपर्नेमा जोड दिएका थिए ।














