झापा, कन्काई – झापाको कन्काई नगरपालिका–३ सुरुङ्गामा बिहीबार बिहान ग्यास सिलिन्डर लिक भई भएको आगलागीमा एकजना वृद्धा गम्भीर घाइते भएकी छन्।

तल्लो बजार क्याम्पस रोडस्थित  ध्रुव   श्रेष्ठको घरमा डेरागरी बस्ने ८१ वर्षीया बाटुलीमाया दाहालको कोठामा बिहान करिब ६:३० बजे आगलागी भएको हो। ग्यास तताउने क्रममा सिलिन्डर लिक भएर अचानक आगो सल्किँदा कोठाभित्र रहेका सबै सामग्री जलेर नष्ट भएको छ।

परिवार स्रोतका अनुसार दाहालको शरीरको करिब ३० प्रतिशत भाग जलेको छ। प्रारम्भिक उपचारपछि उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ। हाल उहाँको अवस्था सामान्य रहेको जनाइएको छ।   

आगलागीपछि घटनास्थलमा सुरुङ्गा प्रहरी, कन्काई नगर प्रहरी, दमकल, स्थानीय पत्रकार तथा नागरिकको सक्रियतामा करिब डेढ घण्टापछि पूर्णरूपमा आगो नियन्त्रणमा लिइएको हो।

घटनाबाट भएको संपत्ति क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सुरुङ्गा प्रहरीले जनाएको छ।