काठमाण्डौँ, श्रावण २४– आज देशभर हिन्दू समुदायले धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका साथ श्रावण पूर्णिमा अर्थात् जनैपूर्णिमा र रक्षाबन्धन पर्व उत्साहपूर्वक मनाइरहेका छन्।
यस दिनलाई वेदजयन्तीको रूपमा पनि मानिन्छ, किनकि वैदिक मान्यताअनुसार आजकै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेका थिए।
जनैपूर्णिमामा ब्राह्मण, क्षत्री र वैश्य तागाधारीहरूले शास्त्रीय विधानअनुसार आफ्नो जनै फेर्ने परम्परा रहिआएको छ।
यसका लागि अघिल्लो दिन चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बस्ने गरिन्छ। पूर्णिमाको बिहान पोखरी, नदी वा कुण्डमा गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका प्रयोग गरी स्नान गर्ने परम्परालाई ‘श्रावणी स्नान’ भनिन्छ।
रक्षाबन्धन पर्वमा ब्राह्मण पुरोहितहरूले वैदिक मन्त्रोच्चारण गर्दै यजमानको दाहिने नाडीमा रक्षा सूत्र (डोरो) बाँधिदिन्छन्।
धार्मिक विश्वासअनुसार यो रक्षा सूत्र वर्षभर राख्दा अनिष्ट टर्ने, स्वास्थ्य र आयु वृद्धि हुने मान्यता छ। साथै, गाई तिहारका दिन यसै रक्षा सूत्रलाई गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपछि वैतरणी नदी सजिलै पार गर्न सकिने जनविश्वास छ।
आजैको दिन विशेष परिकार ‘क्वाँटी’ खाने चलन छ। एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर तयार पारिने यो परिकारले रोग प्रतिरोधात्मक क्षमता बढाउने, पेट सफा राख्ने र वर्षायामको चिसो निवारण गर्ने धार्मिक तथा स्वास्थ्यगत विश्वास छ।
जनै फेर्ने र रक्षा बन्धन बाँध्ने क्रमसँगै राजधानीको पशुपतिनाथ मन्दिर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती किनारसहित देशभरका मठ–मन्दिरमा भक्तजनको घुइँचो देखिएको छ।
परम्परा, धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा जनैपूर्णिमा र रक्षाबन्धन आज श्रद्धा र भक्ति भावका साथ देशभर मनाइँद पौराणिक परम्परा, धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा जनैपूर्णिमा र रक्षाबन्धन आज श्रद्धा र भक्ति भावका साथ देशभर मनाइँदै छ।














