दमक, श्रावण २७, भरत भाबुक प्रसाई — मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकको नयाँ कार्यसमिति गठन गरिएको छ ।
संयोजकमा एलिसा ओली चयन हुनुभएको छ भने १४ सदस्यीय कार्यसमिति गठन भएको हो ।
झापा जिल्ला संयोजक गंगादेवी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले प्रमुख अतिथि तथा कोशी प्रदेश संयोजक पिंकी थापाको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा केन्द्रीय अध्यक्ष काफ्लेले निवर्तमान उपशाखा दमक परिवारलाई शुभकामना अर्पण गर्दै नयाँ कार्यसमितिलाई निस्वार्थ भावनासहित विपन्न, अशक्त र सहाराविहिनको पक्षमा आवाज बन्न आग्रह गर्नुभयो।
उहाँले दबाब र प्रभावमा नपरी संस्थाको उद्देश्यमा कुनै स्वार्थमा लिप्त नभई लाग्न पदाधिकारीलाई निर्देशन दिनुभयो। शुभकामना मन्तव्य राख्दै कोशी प्रदेश संयोजक पिंकी थापाले समाजमा देखिएको व्यथिति, नारीप्रतिको दुव्र्यवहार र हिंसा विरुद्ध नयाँ कार्यसमिति सशक्त रुपमा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताउनुभयो।
कार्यक्रममा सहसंयोजक रोशनी अधिकारी, सचिव रिना राई, कोषाध्यक्ष सीता श्रेष्ठ, सहकोषाध्यक्ष सीता अधिकारी तिम्सिना तथा सदस्य जुनु भट्टराईलगायतको गरिमामय उपस्थिति थियो।

कार्यक्रममा संस्थाको उद्देश्य, भावी योजना र कार्यक्रमबारे समेत विस्तृत छलफल गरिएको थियो।
नवनिर्वाचित संयोजक एलिसा ओलीले आफ्नो नेतृत्वमा रहेको कार्यसमितिले प्रेरणादायी कार्यगर्दै आवाजविहीनहरूको आवाज बन्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले मेची महाकाली बुहारी संयुक्त आवाजलाई नेपाली बुहारीको वास्तविक आवाजका रूपमा अघि बढाउने संकल्प व्यक्त गर्नुभयो।














