बिर्तामोड, श्रावण २७ – श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर झापाको बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ आयोजना गरिएको छ ।
आगामी साउन ३१ गते श्री राधा माधव भजनस्थलीले झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ आयोजना गरेको हो ।
बिहान ७ बजेदेखि मध्यरात १२ बजेसम्म चल्ने मंगलवार झापाको बिर्तामोडस्थित अग्रसेन भवन परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको तयारीका बिषयमा जानकारी गराइएको छ ।
आयोजक श्री राधा माधव भजनस्थलीका अनुसार कार्यक्रममा बालबालिकाको सांस्कृतिक प्रस्तुति, ब्रह्मचारी भक्तहरूको नाट्य प्रदर्शन, कृष्ण कथा महारथी, विश्व शान्ति महायज्ञ, भजन–कीर्तन र प्रवचनलगायतका गतिविधिहरू रहनेछन्।

नेपालमा श्रीकृष्ण आन्दोलनका प्रवर्तक तथा श्री राधा माधव भजनस्थलीका अध्यक्ष श्रद्धेय भक्ति सिद्धान्तदास ब्रह्मचारीको प्रमुख आतिथ्य र सिद्ध स्वरूपदास ब्रह्मचारीको विशिष्ट आतिथ्य रहने कार्यक्रममा प्रदेश प्रमुख, सभामुख, नगर प्रमुख, उपप्रमुख, जिल्ला प्रशासन अधिकृतसहित उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति अपेक्षित गरिएको छ ।
अध्यक्ष भक्ति सिद्धान्तदास ब्रह्मचारीका अनुसार उत्सवको मुख्य उद्देश्य भगवान श्रीकृष्ण र गुरु प्रसन्नता, सनातन धर्मको रक्षा र प्रवर्धन, युवालाई संस्कृति र आध्यात्मिकतासँग जोड्ने, हरिकृष्ण महामन्त्रको प्रचार तथा कृष्णसेवामा प्रेरित गर्ने लगायत रहेको बताउनुभयो ।

आयोजकले झापा भरिबाट १० हजारभन्दा बढी भक्तजनको सहभागिता हुने विश्वास व्यक्त गरेको छ। उत्सवमा सहभागी सबै भक्तजनका लागि महाप्रसाद ग्रहणको व्यवस्था पनि मिलाइएको छ।
जन्माष्टमीको भोलिपल्ट बालाजी मन्दिरको आयोजनामा भव्य रथयात्रा निकालिने भएको छ, जसमा सहभागी हुन भक्तजनलाई विशेष आग्रह गरिएको छ ।
भक्ति शिद्धान्तदास ब्रम्हाचारी, शिद्ध स्वरुप दास ब्रम्हाचारी, मनः शिक्षा दास ब्रम्हाचारी, शान्तिदाता माधव दास, विनी माताजी लगायतले आयोजना गर्न लागिएको श्रीकृष्ण जन्माष्टमी महाउत्सवका विषयमा जानकारी गराएका थिए ।
श्री राधा माधव भजनस्थली २०८० साल कार्तिक ३ गते झापामा दर्ता भएको धार्मिक संस्था हो, जसको स्थापना परमपूज्य भक्ति सिद्धान्तदास ब्रह्मचारीले गरेका हुन्।
उहाँ नेपालकै वरिष्ठ वैष्णव भक्त तथा आजीवन ब्रह्मचारी हुन्। सन् १९९९ मा संस्थालाई नेपालमा दर्ता गरी २०१४ सम्म प्रमुख आध्यात्मिक गुरु र निर्देशकको रूपमा सेवा र्पुयाइसक्नुभएको छ।
हिन्दू धर्मावलम्बीहरुलाई भागवत गीता र श्रीमद् भागवत महापुराणका विषयमा समाजमा प्रचार प्रसार गर्ने उद्धेश्यले ‘हरे कृष्ण मोमेन्ट’ अभियान सञ्चालन गरिएको श्री राधा माधव भजनस्थलीका अध्यक्ष समेत रहेका भक्ति सिद्धान्त साद ब्रम्हचारीले जानकारी दिए ।
भगवान श्रीकृष्ण र गुरुको प्रशन्नता, सनातन धर्मको रक्षा र प्रर्वधन, युवालाई सनातन संस्कृति र अध्यात्मिकसंग जोड्नु , हरे कृष्ण महामन्त्रको प्रचार गर्नु, सबैलाई कृष्ण सेवामा लाग्न प्रेरणा दिने उद्देश्यले हरे कृष्ण अभियान सञ्चालन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा साउन ३१ गते विहान ७ः३० बजेदेखि विशेष कार्यक्रम हुने जनाइएको छ ।
जस अन्तरगत दर्शन आरती र गुरु पूजा, कृष्ण कथा १, विश्व शान्ति महायज्ञ, भजन कीर्तन, कृष्ण कथा २, भजन कीर्तन, हरे कृष्ण वृत्त चित्र, वालवालिकाको सांस्कृतिक कार्यक्रम ,कृष्ण कथा ३, ब्रम्हाचारी भक्तको नाट्य प्रस्तुति, आरती र कीर्तन, कृष्ण कथा ४, महाभिषेक, ५६ भोग अर्पण र राति १२ बजे कृष्ण जन्मेको अवसर पारेर महाआरती र कीर्तन गरिने आयोजक समितिले जनाएको छ ।
महाउत्सवमा झापाका विभिन्न ठाउँसहित भारतको सिलिगुढी तथा विहारबाट समेत दशौं हजार भक्तजनको उपस्थिति रहने आयोजकको अनुमान छ ।














