बाह्रदशी । भरत भाबुक प्रसाई, बाह्रदशी गाउँपालिका४  चकचकीमा अवस्थित कानगोई अंग्रेजी विद्यालयमा सञ्चालित कानगोई स्काउट टुपले भव्य क्याम्प फायर कार्यक्रमसहित दीक्षान्त समारोह सम्पन्न गरेको छ।

 चारै दिशाबाट आएका विभिन्न स्काउट पेट्रोलहरूले आआफ्नो सन्देश प्रस्तुत गरेपछि कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष  मताव आलमले औपचारिक रुपमा क्याम्प फायर कार्यक्रम उद्घाटन भएको घोषणा गर्नुभएको थियो।

बाह्रदशी गाउँपालिकामा रहेका १४ वटा निजी विद्यालयमध्ये पहिलोपटक कानगोई अंग्रेजी विद्यालयले स्काउट शिक्षा सञ्चालनमा ल्याएको हो।

 कार्यक्रममा विभिन्न स्काउट पेट्रोलका स्काउटरहरूले अन्तर्राष्ट्रिय गेम, फायर गीत, राष्ट्रिय भावनाले ओतप्रोत गीत लगायतका सांगीतिक प्रस्तुति दिएका थिए।

 नम्रता तथा प्रार्थना टिमले राष्ट्रिय भावनासहितको गीत प्रस्तुत गरी उपस्थित अभिभावक र अतिथिलाई स्वागत गरेका थिए।

कार्यक्रम विद्यालयका सहप्रधानाध्यापक तथा स्काउटका अध्यक्ष सुनिल राजवंशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बाह्रदशी गाउँपालिका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा समाजसेवी भगीरथ पोदार, नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला तथा प्रदेश कोषाध्यक्ष ओमप्रकाश गौतमस्थानीय समाजसेवीहरू देवीगणेश अग्रज, दयानन्द गोस्वामी, सूर्यनारायण गणेश, पदम मैनाली, सहायक राष्ट्रिय स्काउट प्रशिक्षक नारायण श्रेष्ठ लगायतको विशिष्ट आतिथ्यता रहेको थियो।

विद्यालयका संस्थापक धीरज नारायण गणेशले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। समाजसेवी तथा अग्रज व्यक्तित्व दयानन्द गोस्वामीले स्काउटले अनुशासन, मर्यादा र सामाजिक संगठन निर्माणमा सहयोग गर्ने बताउँदै विद्यार्थीलाई मोबाइलभन्दा पढाइमा बढी ध्यान दिन आग्रह गर्नुभयो।

उहाँले स्काउटले समाजप्रति समर्पण गर्न सिकाउने भएकाले बालबालिकालाई यसतर्फ आकर्षित गराउन अभिभावकलाई सुझाव दिनुभयो।

 

त्यस्तै नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला कोषाध्यक्ष ओमप्रकाश गौतमले कानगोई अंग्रेजी विद्यालयले गाउँपालिकामै पहिलो पटक स्काउट कार्यक्रम सञ्चालनमा ल्याएको भन्दै प्रशंसा गर्नुभयो।

 उहाँले विद्यालयका गतिविधिहरू विद्यार्थीमैत्री भएको र यसले अभिभावक तथा आमनागरिकलाई समेत खुसी तुल्याएको बताउनुभयो।

प्रमुख अतिथि वडाध्यक्ष मताप आलमले स्काउट कार्यक्रमलाई व्यक्तिगत जीवनलाई सक्षम, समाजलाई सृजनशील, नेतृत्व र आत्मविश्वास जगाउने तथा समूहगत भावनाको विकास गर्ने अवसरका रुपमा व्याख्या गर्नुभयो। उहाँले विपद व्यवस्थापनदेखि सामाजिक समस्यासम्म स्काउटले हामी एक हौँभन्ने भावनासहित काम गर्दै आएको उल्लेख गर्दै यस किसिमको कार्यक्रम विद्यार्थीको शैक्षिक उन्नयनमा ठूलो सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा कुकुर पेट्रोल र कौशल श्रेष्ठ समूहले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको सञ्चालन पत्रकार तथा उद्घोषण प्रशिक्षक भरत प्रसाईले गर्नुभएको थियो।

समापन मन्तव्यमा कार्यक्रमका अध्यक्ष सुनिल राजवंशीले विद्यालय व्यवस्थापन समिति, स्थानीय समाजसेवी, सञ्चारकर्मी र अभिभावक समितिका सदस्यलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा अभिभावक समितिका सदस्यहरू देवी कार्की, विष्णु निरौला, महबुब आलम, पदम मैनाली, सगुना राजवंशी, याकुब आलम, इन्दिरा कोइराला, दुर्गा ताजपुरिया, सञ्चारकर्मी सूर्योदय टेलिभिजनका उपसम्पादक देव बाँस्कोटा, मोफसल अनलाइनका कार्यालय प्रमुख ओम नारायण राजवंशी लगायत स्थानीय अभिभावक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।