बिर्तामोड, झापा — बिर्तामोड नगरपालिका–७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक बनक्षेत्रभित्र निर्माण गरिएको स्विमिङ पुलको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम समितिका अध्यक्ष कृष्णप्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न समारोहमा कोशी प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की प्रमुख अतिथि रहनुभएको थियो।
स्विमिङ पुलको विधिवत् उद्घाटन मन्त्री कार्कीले रिबन काटेर गर्नु भएको हो। कार्यक्रममा विशेष अतिथिका रूपमा वडा नं ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलको उपस्थिति रहेको थियो। अन्य विशिष्ट अतिथिहरूमा रेनुका उप्रेती, मोहन सुब्बा, नवीन भट्टराई, देवराज कार्की, देवेन्द्र खवास, चन्द्रमणि खरेल र डिल्ली ओलीजस्ता विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य मङ्गलसिंह सावाले प्रस्तुत गर्नुभएको थियो भने, मन्तव्य दिने क्रममा प्रमुख अतिथि मन्त्री कार्की, वडाध्यक्ष खरेल, मोहन सुब्बा, नवीन भट्टराई तथा देवराज कार्कीले स्विमिङ पुलको आवश्यकता, उपयोगिता तथा भविष्यका योजनाहरूको बारेमा विचार व्यक्त गर्नुभएको थियो।
समारोहको सञ्चालन सचिव इन्दिरा अधिकारी बाँस्कोटाले गर्नुभएको थियो।
स्विमिङ पुलको उद्घाटनसँगै स्थानीय पर्यटन, खेलकुद तथा युवाहरूको सक्रियता प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास गरिएको छ।














