बिर्तामोड–३ स्थित लिङ्कन मन्टेस्वरीले अभिभावकहरूलाई लक्षित गर्दै एकदिने बाल मनोविज्ञानसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बाल मानसिक स्वास्थ्य, पढाइमा देखिने समस्या समाधान, सकारात्मक सोच विकास, र व्यवहारमैत्री वातावरण निर्माण सम्बन्धी जानकारी प्रदान गरियो।


कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईले बालबालिकाको समुचित विकासका लागि अभिभावक, शिक्षक र विद्यालयबीच त्रिपक्षीय सहकार्य आवश्यक हुने उल्लेख गर्दै यस किसिमका प्रशिक्षणहरूले बालबालिकाको मनोविज्ञान बुझ्न र सकारात्मक वातावरण बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रशिक्षक सोमाली मैनालीले अभिभावकलाई बालबालिकाको मनोवृत्ति, पढाइमा देखिने समस्या, व्यवहारगत परिवर्तन, मानसिक स्वास्थ्य, आत्मविश्वास विकास, घर र विद्यालयबीचको सहकार्य लगायतका विषयमा विस्तृत प्रशिक्षण दिएकी हुन् ।

उनले बालबालिकालाई बुझ्न अभिभावक धैर्यवान् र सहजीकरणमा सक्षम हुनुपर्ने बताइन् ।

उक्त अवसरमा विद्यालयका सञ्चालक सरोज पौडेलले बालबालिकाको सीप र क्षमता पहिचान गरी उनीहरूलाई उचित दिशामा अघि बढाउन अभिभावक र शिक्षकबीच निरन्तर समन्वय अपरिहार्य रहेको बताएकी छन् ।

उनले यस किसिमका कार्यक्रमले अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्ने धारणा व्यक्त गरेका थिए ।

त्यसैगरी सोही अवसरमा विद्यालयले तीज विशेष कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले तीज गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रममा शान्ति टोल विकास समितिको नवनिर्वाचित कार्यसमितिलाई विद्यालय परिवारतर्फबाट शुभकामना दिइएको थियो । समितिको सफल कार्यकालको कामना गर्दै विद्यालयले समुदायसँग सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाएको थियो ।

उक्त कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक प्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।