यही बिहीबारदेखि नेपाल सहित ४० भन्दा बढी देशमा एकैसाथ प्रदर्शनमा आउन लागेको सिनेमा “कोशेढुंगा” लाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको छ ।

सिनेमाले जाँचपास समिति (सेन्सर बोर्ड)बाट यूनिभर्सल सर्टिफिकेट पाएसँगै सरोज पौडेलको निर्देशनमा तयार भएको यो सिनेमा सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् ।

सिनेमाको टिजर, ट्रेलर तथा गीतसंगीतले दर्शकको मन जितिसकेको अवस्थामा प्रदर्शनमा आउन लागेको यो सिनेमा व्यवसायिक सफलता हासिल गर्ने अनुमान गरिएको छ ।

महिला प्रधान सिनेमामा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।

प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको सिनेमा को कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायाङ्कन, नहकुल खड्काको सम्पादन रहेको सिनेमा मा आशिष अविरल र रिदम कँडेलको संगीत छ ।

सिनेमालाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ । सेभेन सिजका अनुसार सिनेमा नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० मुलुकमा एकसाथ प्रदर्शनमा आउनेछ ।

सिनेमाको छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी, सिरुवारी र काठमाडौँमा गरिएको हो । सिनेमा को आज अपराहन्न प्रिमियर गरिँदैछ भने अग्रिम बुकिङ समेत खुलिसकेको छ । किर्तिमानी सिनेमा ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको लेखन र निर्देशनमा बनेको सिनेमा भएकाले पनि बहुप्रतिक्षित बनेको छ ।