झापा । स्काई क्रिएटर्स इन्टरनेसनल प्रा. लिले आयोजना गर्न लागेको मिस्टर एण्ड मिस प्रोभिन्स नं. १ सिजन–४ र लिटल ग्लाम सिजन–२ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
बिर्तामोडस्थित साही पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइयो ।
कार्यक्रमका अध्यक्ष सन्दीप राजवंशीले आगामी शनिबार दोस्रो अडिसन हुने जानकारी दिनुभयो।
अध्यक्ष राजवंशीका अनुसार गत शनिबार सम्पन्न पहिलो अडिसनबाट १९ जना प्रतिस्पर्धी छनोट भएका छन्।् ।
दोस्रो अडिसन यही शनिबार बिहान ११ बजे र दिउँसो १ बजेदेखि प्रशिक्षण सेसन साही पार्टी प्यालेसमा हुने कार्यक्रमका निर्देशक प्रायुस पौडेलले जानकारी दिनुभयो ।
पौडेलले प्रतिभाशाली युवा–युवती तथा बालबालिकाले आफ्नो व्यक्तित्व, प्रतिभा र आत्मविश्वास प्रदर्शन गर्न यस कार्यक्रम उत्कृष्ट मञ्च सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतियोगिताका विजेताले मिस्टर एण्ड मिस सुप्रा नेशनल नेपाल २०२५ मा प्रतिनिधित्व गर्ने अवसर पाउने जानकारी दिनुभयो।
कार्यक्रमकी प्रबन्ध निर्देशक पवन श्रेष्ठले प्रतियोगितामा सहभागी हुने युवायुवतीले ख्यातिप्राप्त विज्ञहरूको विशेष प्रशिक्षण पाउने बताउनुभयो।
उहाँका अनुसार २०१९ का मिस्टर नेपाल विजेता डा. सन्तोष उपाध्यायले व्यक्तित्व विकास, ग्रुमिङ र मोडलिङ सम्बन्धी तालिम दिनेछन् भने कोरियोग्राफी मिस नेपाल २०१८ को टप–२५ मा पर्न सफल आलिसा अधिकारीले गर्नेछिन्।
उहाँले मिस्टर एण्ड मिस प्रोभिन्स नं. १ को प्रशिक्षण शुल्क २० हजार र लिटल ग्लाम को १५ हजार लाग्ने बताउनुभयो ।
करिब २५ दिनसम्म चल्ने प्रशिक्षणबाट प्रतिभाहरूलाई राष्ट्रिय स्तरको मञ्च दिलाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाइने उहाँको भनाइ छ ।
सल्लाहकार हिमा पौडेलले इभेन्टले युवाको सिर्जनशीलता निखार्न मद्दत गर्ने बताउनुभयो। अध्यक्ष राजवंशीले स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रा .लिले निरन्तर कलाकारिता क्षेत्रमा लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यले यस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो ।
इभेन्टलाई एक्सपर्ट एजुकेसन एण्ड भिसाले स्पोन्सर गरेको छ भने मिडिया पार्टनरको रूपमा खबरखेती डटकम रहेको छ।














