बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ र अर्जुनधारा नगरपालिका वडा नम्बर ११ अन्तरगत पर्ने नयाँ बसपार्क क्षेत्रका वासिन्दा आक्रोशित भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा रोड भएर बिर्तामोडको नयाँ बसपार्क प्रवेश गर्ने सडक र काँकडभिट्टारोडबाट नयाँ वसपार्क प्रवेश गरेर जाने सडक विगत छ महिनादेखि निर्माणको कारण देखाउँदै आवागमन वन्द भएपछि उनीहरु आक्रोशित भएका हुन् ।
सडक निर्माणको क्रममा सडक नै ढाक्नेगरी ठेकेदारले निर्माण सामग्री , सडक खनेर निकालेको माटो लगायतका सामग्री सडकमा नै राखिदिँदा त्यसले दिनहुँ दुर्घटना निम्त्याउने गरेको स्थानीय व्यवसायी याम रिजाल बताउँछन् ।
अहिले उक्त सडकमा रहेका खाल्डाखुल्डीमा पानी र हिलोको दह जम्ने गरेका कारण उक्त सडक पार गर्ने यात्रु, उनीहरुका सवारी साधन पनि चिप्लिएर लड्ने गरेको र त्यसले गम्भीर दुर्घटना निम्त्याउने गरेको उनको भनाई छ ।हिलाम्मे सडक पानी जमेका खाल्डाखुल्डीले नयाँ बसपार्कलाई कुरुप बनाएको उनी वताउँछन् ।
सडक वारपार नै अवरुद्ध भएपछि विगत छ महिनादेखि नयाँ बसपार्कमा बसहरु प्रवेश नगरेका कारण आफूहरुको व्यवसाय नै चौपट्ट बनेको बताउँदै उनले तत्काल सडक निर्माण गरी सुचारु गर्नुपर्ने जनाए ।
पहिले पहिले नयाँ बसपार्कमा बसहरु प्रवेश गर्ने गरेको र बसमा सवार यात्रुहरुले आफूलाई चाहिने सामग्री खरिद गर्दा व्यापार व्यवसाय बढेको बताउँदै उनले अहिले सडक निर्माणको कारण देखाउँदै नयाँ बसपार्कमा बसहरु प्रवेश नगरेका कारण आफूहरुको व्यवसाय नै धरासायी बनेको जानकारी दिए ।
स्थानीय सुदर्शन गिरीले आफ्ना स्वर्गीय पिता टेकबहादुर गिरीको स्मृतिमा उपलब्ध गराएको २ विगाहा ८ कठ्ठा जग्गामा भारत सरकारको सहयोगमा करोडौं रुपैयाको लागतमा निर्माण भएको नयाँ बसपार्क पछिल्लो समय अस्तब्यत वन्दै गएको अर्का स्थानीय शिव पौड्याल बताउँछन् ।
नयाँ वसपार्क प्रवेश गर्ने सडक कछुवाको गतिमा निर्माण हुँदा अहिले सडकमा थुपारिएको निर्माण सामग्रीले सडक वारपार गर्नसक्ने अवस्थासमेत नरहेको बताउँदै उनले यसले नयाँ बसपार्क उजाड र कुरुप बनाएको जनाए ।सडकमा हिडिसक्ने अवस्था नरहेको बताउँदै उनले सामान्य वर्खामा पनि हिलाम्मे सडकले यात्रुले सास्ती व्यहोर्नु परेको जनाए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा रोड भएर बिर्तामोडको नयाँ बसपार्क प्रवेश गर्ने सडक र काँकडभिट्टारोडबाट नयाँ वसपार्क प्रवेश गरेर जाने सडक निर्माणमा ठेकेदारको लापरवाहीका कारण आफूहरुले सास्ती व्यहोर्नु परेको उनले बताए ।
सडक निर्माणका लागी ल्याइएका निर्माण सामग्री र सडक खन्दा थुपारिएको माटो तत्काल हटाएर सडकमा हिड्ने बातावरण बनाउन ठेकेदारलाई आग्रह गर्दै उनले त्यसो नगरे स्थानीयवासीले डोजर लगाएर सडक खाली गराउने चेतावनी दिए ।
अर्का स्थानीयवासी सुजन शिवाकोटीले सडक निर्माण गर्दा ठेकेदारले अनेकौं त्रुटी गरेको बताए । सडक निर्माण गर्नुपूर्व ठेकेदारले सडक निर्माण आयोजना वोर्ड समेत नराख्दा उक्त सडक कति रुपैयाँको लागतमा कसले निर्माण गरेको र कहिलेसम्म निर्माण सम्पन्न हुने लक्ष्य लिएको समेत जानकारी नहुँदा सडक निर्माणमा भ्रष्टाचारको गन्ध आएको उनको भनाई छ ।
अर्का स्थानीय दिपेन राई सडक कसले निर्माण गर्दै छ भन्ने जानकारी समेत यहाँका वासिन्दालाई थाह नभएको बताउँछन् । उनले आफूहरुले विगत छ महिनादेखि सडक निर्माणका कारण सास्ती व्यहोर्नु परिरहेको बताउँदै सडकमा थुपारिएको निर्माण सामग्री र माटोका कारण सडकमा दुर्घटनाको जोखिम बढेको जनाए ।
सडक हिलाम्मे भएका कारण आवतजावतमा समस्या भएकाले ठेकेदारले निर्माण सामग्री हटाएर सडक फराकिलो बनाउँदै आवागमन सहज पार्न आग्रह गरे ।
विर्तामोडको नयाँ वसपार्कको सडकको समस्या तत्काल समाधान गर्न स्थानीय हरि भण्डारीले राजनीतिक दल, नगरपालिका, प्रशासन सबैलाई आग्रह गरेका छन् ।
सडकको दुरावस्थाले गर्दा दैनिक हजारौ यात्रु, पर्यटक नयाँ बसपार्क आईपुग्न समस्या भइरहेको अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्काले बताए । उनले सडकको समस्या समाधान गर्न अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले चासो देखाउनुपर्ने बताए ।
नयाँ बसर्पाकको आम्दानी लिन तछाडमछाड गर्ने अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सडक निर्माणमा देखिएको समस्या समाधान गर्न तत्काल पहल गर्नुपर्ने उनको भनाई छ ।
दशैं अघि नै नयाँ बसपार्कको सडक निर्माण सम्पन्न गरी सवारी आवागमन सहज बनाउन बिर्तामोड नयाँ वसपार्कका व्यवसायी तथा स्थानीय वासिन्दाले आग्रह गरेका छन् ।














