झापा । भरत प्रसाई,मेची महाकाली बुहारी संयुक्त आवाजले आफ्नो छैठौं वार्षिकोत्सव तथा संस्थापक अध्यक्ष र हालकी अन्तर्राष्ट्रिय अध्यक्ष यमन शर्मा पौडेलको जन्मदिन एकैसाथ मनाउँद,ै दमक–९ स्थित दिपज्योति उराउटोलमा रहेका १०४ विपन्न तथा अल्पसंख्यक उराउ परिवारलाई खाद्यान्न, जिन्सी सामग्री तथा लत्ता–कपडा वितरण गरेको छ ।

संस्थाले पछिल्ला वर्षहरूमा बालबालिका, महिला र समाजमा भइरहेका हिंसाका विरुद्ध सशक्त भूमिका खेल्दै आवाजविहीनहरूको आवाज बन्ने काम गर्दै आएको छ ।
यसै क्रममा यो वर्षको वार्षिकोत्सव विशेष गरी विपन्न र अल्पसंख्यक समुदायलाई सहयोगसमेत गर्दै सम्पन्न भएको हो।

कार्यक्रममा दमक–९ का वडाध्यक्ष कुबेर भट्टराई प्रमुख अतिथि, मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले विशिष्ट अतिथि र दमक उपशाखाकी संयोजक अलिशा ओली कार्यक्रम अध्यक्ष रहनुभएको थियो।
संयोजक ओलीले संस्थाले सदैव विपन्न नागरिकका समस्यामा आफ्ना प्रयास जोड्दै आएको उल्लेख गर्दै करिब ७० हजार मुल्य बराबरको सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।
वडाध्यक्ष भट्टराईले आफ्नो वार्षिकोत्सव अल्पसंख्यक उराउ समुदायलाई समर्पित गरेकोमा संस्थालाई धन्यवाद ज्ञापन गर्दै यस किसिमका गतिविधिले समाज रूपान्तरणमा प्रेरणादायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, झापा जिल्ला संयोजक गंगा भट्टराईले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै महिलाहरू एकजुट भएर समाजका सानातिना समस्याहरू आफैं समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो। उहाँले संस्थापक अध्यक्ष पौडेलको परिकल्पना आज सार्थक बनेको स्मरण गर्नुभयो ।
विशिष्ट अतिथि तथा केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले संस्थापक अध्यक्ष पौडेललाई जन्मदिनको शुभकामना व्यक्त गर्दै यमन शर्मा पौडेलको नेतृत्वमा संस्थाले अझै लोकप्रियता हासिल गर्ने बताउनु भयो । उहाँले संस्थामा केही पाइन्छ भन्ने उद्देश्यले कुनै काम नगरी सेवा नै जीवनको सन्तुष्टि हो भन्ने भावनासहित काम गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले मेची महाकाली बुहारी संयुक्त आवाज सबैको सहयोग र सामूहिक प्रयत्नले देशभर विस्तार भइरहेकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कमल संयोजक चन्द्रकला सुब्बा, कन्काई संयोजक कल्पना भट्टराई, भद्रपुर उपाध्यक्ष तुलसी थापा, कमल उपशाखा सल्लाहकार मिथिला श्रेष्ठ, सेलिना राई, दमक उपशाखा सल्लाहकार मेनुका चिमरिया लगायतले शुभकामना मन्तव्य राख्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो।

कार्यक्रममा सञ्चारकर्मी मोफसल अनलाइनका सम्पादक भरत प्रसाई, पत्रकार ओमनारायण राजवंशी, सप्तरङ्गी एफएमका प्रबन्ध निर्देशक गिरिराज भट्टराई, पत्रकार राजु निरौला, दिपज्योति उराउ बस्तीका उपाध्यक्ष अर्जुन उराउसहित विभिन्न उपशाखा प्रतिनिधि, आजीवन सदस्य र स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय पुष्पा उराउलीले दशैंको मुखमा पाएको सहयोगले समुदायमा हर्ष र प्रसन्नता ल्याएको भन्दै संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन दमक उपशाखाकी सचिव सुमन भुर्तेलले गर्नुभएको थियो।














