देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् ।
जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले बताए ।
अझै १२ हजार ८५२ कैदीबन्दी फरार नै रहेका छन् । देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए ।
त्यसै गरी प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा फरार भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर अहिले निस्केका टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका छन् ।
कारागार प्रशासन स्रोतका अनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार फर्कन तयार रहेको बताएका हुन् । रायमाझीले नै आफू आउन तयार रहेको बताए पनि अहिले नआउन भनिएको कारागार स्रोतले बतायो ।














