काभ्रेपलाञ्चोक । मनसुन सुरु भएपछि बाढीपहिरोको जोखिमका कारण रातिको समयमा रोक लगाइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि चौबीसै घण्टा सञ्चालनमा ल्याइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले यात्रुको सहजता, चाडपर्वमा हुने सवारी चाप र मनसुन अन्त्यतर्फ धकेलिँदै गएकाले सडक निरन्तर सञ्चालन गर्ने निर्णय गरेको हो।

कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार गत असारदेखि राजमार्गमा रातिको १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको थियो। काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोकसम्मको खण्डलाई उच्च जोखिमयुक्त मानेर रोक लगाइएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार बाढीपहिरोको सम्भावित खतरा कम हुँदै गएकोले अब यात्रु सहज हुने गरी राजमार्ग पूर्ण रूपमा खोल्ने निर्णय भएको हो। उनका अनुसार अघिल्ला महिनामा जोखिमपूर्ण ठाउँहरूमा रोकथाम तथा सतर्कता अपनाइए पनि निरन्तर वर्षाका कारण रातिको यात्रा सुरक्षित मानिएको थिएन।

गत वर्ष असोजमा आएको बाढीपहिरोले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्म करिब आठ किलोमिटर सडक बगाएको थियो।

अस्थायी मर्मतपछि सडक सञ्चालनमा ल्याइए पनि बारम्बार वर्षा हुँदा रातिको यात्रा रोकिएको थियो। अहिले स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको छ।

बिपी राजमार्ग राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण बाटो हो।

दैनिक हजारौँ सवारीसाधन चल्ने यो मार्ग फेरि चौबीसै घण्टा सञ्चालनमा आउने भएपछि यात्रुहरूलाई ठूलो सहज हुने अपेक्षा गरिएको छ।