सर्वकालिक सफल सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘कोशेढुङ्गा’ को प्रदर्शन सोमबारदेखि निरन्तरता पाएको छ।

प्रदर्शनको दोस्रो सातासम्म उच्च अकुपेन्सी पाएको ‘कोशेढुङ्गा’ भदौ २३ गते मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हलहरू बन्द भएपछि स्थगित भएको थियो। हलहरू पुनः सञ्चालनमा आएसँगै चलचित्रले फेरि प्रदर्शन थालिएको हो।

राम्रो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला रोकिएको प्रदर्शनपछि पनि दर्शकबाट उत्तिकै साथ र सहयोग पाउनेमा निर्माण पक्ष आशावादी देखिएको छ। निर्देशक पौडेलले पनि दर्शकले सुरुमा दिएको सकारात्मक प्रतिक्रिया फेरि दोहोरिने विश्वास व्यक्त गरेका छन्।

भदौ १२ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले बलियो ‘वर्ड अफ माउथ’ पाइरहेको समयमा टिम मोफसलका दर्शक भेट्न पुगेको थियो।

Koshedhunga Hall

निर्माता किशोर अनुरागका अनुसार विभिन्न सहरका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका छन् र ठूलो संख्यामा हलसम्म आउनेमा आफूहरू आशावादी छन्।

नरदेवी फिल्मस्को प्रस्तुति रहेको चलचित्रका लेखक पनि सरोज पौडेल स्वयं हुन्।

चलचित्रमा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतमलगायतको अभिनय रहेको छ। साथै सिर्जना अधिकारी, शेखर चापागाईं, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा र सविता रेग्मीले पनि अभिनय गरेका छन्।