बिर्तामोड । भरत भाबुक प्रसाई,
अत्यन्तै प्रतिक्षित नेपाली कथानक चलचित्र ‘हरिबहादुरको जुत्ता’ यही असोज १३ गते (सेप्टेम्बर २९, फुलपाती) बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ।
चलचित्रको टिकट बुकिङ झापाको बिर्तामोडस्थित पाथिभरा सिनेमालगायत विभिन्न हलमा सुरु भइसकेको निर्माण पक्षले जनाएको छ।
निर्देशन दिपेन्द्र के. खनालको रहेको यस चलचित्रमा नेपाली हास्य जगतका भीष्म पितामह भनिने हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी, प्रकाश सपूतलगायत कलाकारको मुख्य भूमिका रहेको छ।

हरिवंश आचार्यको कथामा आधारित यस चलचित्रलाई निर्माता सरोज ओलीले निर्माण गरेका हुन्। निर्माता ओलीका अनुसार, हरिवंश आचार्यले जीवन्त अभिनयमार्फत पेट मिचीमिची हँसाउनेमा आफूहरू आशावादी छन्।
निर्देशक खनालका अनुसार, चलचित्रमा काभ्रेलगायत नेपालका आकर्षक पर्यटकीय स्थलमा छायाङ्कन गरिएको छ।
व्यङ्ग्यात्मक शैलीमा समसामयिक विषयवस्तुलाई प्रस्तुत गर्ने चलचित्रले दशैं पर्वको अवसरमा दर्शकलाई भरपुर मनोरञ्जन दिने निर्माण पक्षको दाबी छ।
दर्शकलाई समयमै आफ्नो नजिकको हल वा अनलाइनबाट टिकट बुकिङ गरी सिट सुरक्षित गर्न पनि आग्रह गरिएको छ।














