काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार सानु भण्डारी र केशव दुलाल अखेर प्रहरीको फन्दामा परेका छन्।

भदौ २४ गते ‘जेनजी आन्दोलन’कै बेला केन्द्रीय कारागार, सुन्धारामा भएको आगजनी र तोडफोडको अवसर लिएर फरार भएका उनीहरूलाई मंगलबार ललितपुरको धापाखेलबाट पक्राउ गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

भण्डारी र दुलालमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको अभियोग छ।

 जनहितमा जारी

उनीहरूलाई यस प्रकरणका नाइके र योजनाकारका रूपमा चिनिन्छ, जहाँ उच्च पदस्थ राजनीतिकर्मीदेखि कर्मचारीसम्मको संलग्नता देखिएको छ।

फरार भएपछि लामो समयसम्म प्रहरी खोजी सूचीमा रहेका दुवैलाई विशेष सूचनाको आधारमा समातिएको हो। पक्राउ परेकालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गरिने प्रहरी स्रोतले जनाएको छ।