बिर्तामोड । भरत प्रसाई 

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षति पुगेको झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन पुनःस्थापनाका काम तीव्र गतिमा अघि बढिरहेको छ।

स्थानीय युवादेखि नागरिक समाज र विभिन्न संघसंस्थाको सक्रियतामा पुनर्निर्माण कार्य करिब ८०–९० प्रतिशत सम्पन्न भइसकेको बताइएको छ।


अहिले भवनमा रङ्गरोदन, छाना हाल्ने, ढोका–झ्याल जडानजस्ता अन्तिम चरणका काम भइरहेका छन्। प्रहरी क्वाटरमा बस्ने कर्मचारी र सुरक्षाकर्मीहरूको सुविधा पुनःस्थापना गर्न विशेष ध्यान दिइएको छ।


चाडपर्वको बेला सुरक्षाकर्मीको भूमिकालाई मध्यनजर गर्दै स्थानीय समाज, बुद्धिजीवी र संघसंस्थाले ‘प्रहरी हाम्रो साथी’ भन्ने भावनासहित योगदान पुर्‍याइरहेका छन्।

आज मात्रै विभिन्न संघसंस्था र व्यक्तिहरूले लाखौं रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका छन्।


btm-police-offine-gen-z-original


‘एकका लागि एक’ अभियानमार्फत १०० थान ब्ल्याङ्केट जिल्ला ट्राफिक कार्यालयलाई बुझाइएको छ भने मारवाडी युवा मञ्च, गोमेन्द्र कलेज, न्युटन्स एजुकेसन फाउन्डेसन, बिर्ता जेसिस, कञ्चनजङ्गा स्कुल, समाजसेवी राजकुमार पोखरेललगायतले १ लाखभन्दा बढी सहयोग गरेका छन्।

त्यस्तै, विभिन्न रोटरी क्लबहरूले कम्प्युटर र स्टेसनरी सामग्री हस्तान्तरण गरेका छन् भने न्यू क्वालिटी कम्प्युटरले प्रिन्टर उपलब्ध गराएको छ।


पुनःस्थापनाको नेतृत्व सम्हालिरहेका रमेश चौधरी, पदम श्रेष्ठ, विपिन बजगाई र सजय शिवाकोटीका अनुसार बाँकी कामहरू पनि केही दिनमै सकिनेछन्। "दिनरात नभनी प्रहरी कार्यालय पुनः व्यवस्थापनको काम भइरहेको छ," चौधरीले बताए।


स्थानीय युवाको अग्रसरता र नागरिक समाजको एकतालाई प्रशंसनीय भन्दै सबैले यसलाई बिर्तामोडवासीको साझा गर्वका रूपमा लिएका छन्।

सुरक्षालाई प्राथमिकता दिँदै समाजले अघि सारेको "आफ्नो लागि आफैं" अभियान चौतर्फी प्रशंसा बटुल्दै गएको छ।