काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनको लागि लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आगामी तीन दिनमा भारी वर्षाको सम्भावना रहेकोले यात्रु सुरक्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै लामो दूरीका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरिएको हो।

प्राधिकरणले दिएको जानकारी अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट काठमाडौं उपत्यका जाने र आउने सवारी साधन मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिनेछ। यस समयमा अत्यावश्यक बाहेकका कुनै पनि लामो दूरीका सवारी साधन नचलाउनका लागि यातायात व्यवसायी र सम्बन्धित निकायलाई अपिल गरिएको छ।

‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ’, प्राधिकरणले सूचना मार्फत भनेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार, असोज २० गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले यात्रु र सडक सुरक्षाका दृष्टिले यो निर्णय लिइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले यो अवधिमा सवारी साधनका आवतजावत बन्द गराउन सम्बन्धित जिल्ला प्रमुख अधिकारी र सुरक्षा निकायलाई अपिल गर्दै निरन्तर निगरानी र अनुगमन गर्न पनि अनुरोध गरेको छ।