यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बीपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ।

उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा बाढीपहिरोले सडक बगाउँदा यातायातका साधन रोकिएपछि तीन दिनदेखि गन्तव्यमा पुग्नुपर्ने खोलाको तिर, खोलैखोला र भिरपाखाबाट हिँड्नुपर्ने बाध्यता बनेको हो ।

वर्षाका कारण राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डको विभिन्न स्थानमा क्षति पुगेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो।

राजमार्गको चौकीडाँडा हुँदै काभ्रेपलाञ्चोकको डाँडापारिलगायत स्थानबाट दसैँ मनाउन घर गएकाहरु ग्रामीण सडकसमेत अवरुद्ध हुँदा घण्टौँ हिँडेर आ–आफ्ना गन्तव्यतर्फ लागिरहेका छन् ।

यही सडक भएर जिल्लाको नमोबुद्ध नगरपालिका तथा रोशी, तेमाल, महाभारत, खानीखोला गाउँपालिका र सिन्धुलीको सुनकोशी र घ्याङलेक गाउँपालिकाका स्थानीय हातगोडा टेकेर कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।

राजमार्गको धुलिखेलदेखि चौकीडाँडासम्म भने यातायातका साधन चलेका छन्।