२२ असोज, झापा । भरत भाबुक प्रसाई ,
झापाको गौरिगञ्ज–१ का स्थानीय युवाहरूले हुलाकी सडक अन्तर्गत १४ वर्षदेखि अधूरो अवस्थामा अलपत्र परेको कन्काई पुल छिटो निर्माण गर्न माग गर्दै बुधबार विरोध प्रदर्शन गरेका छन्।
अलपत्र पुलकै स्थानमा भेला भएका युवाहरूले ‘हामीबाट भयो के भुल, सरकार चाँडो बना पुल’, ‘नचाहिने भ्यू टावरभन्दा चाहिने पुल बना सरकार’ र ‘पूर्ण निर्माण सँगै विकास निर्माण पनि गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
विसं २०६८ मा निर्माण सम्झौता भएको यो पुल ठेकदार कम्पनीको लापरबाहीका कारण हालसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन। पुल नबन्दा गौरिगञ्ज–१ र झापा गाउँपालिकाका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

हिउँदमा बाँसको फड्के र बर्खामा डुंगाको सहारामा आवतजावत गर्नुपर्ने स्थानीयहरूको भनाइ छ। बाँसको पुल तर्दा ५० रुपैयाँ र डुंगामा यात्रा गर्दा १०० रुपैयाँसम्म तिर्नुपर्ने उनीहरूको गुनासो छ।
पछिल्लो वर्षा र बाढीका कारण सम्पर्क मार्ग अवरुद्ध हुँदा झापाको भद्रपुरदेखि विराटनगरसम्मको छोटो बाटो सञ्चालनमा आउन सकेको छैन। स्थानीयहरूका अनुसार यदि कन्काई पुल निर्माण सम्पन्न भएको भए झापा र कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो।
आगामी दिनमा पुल निर्माणका लागि थप दबाबमूलक कार्यक्रम सञ्चालन गरिने गौरिगञ्ज–१ का युवा मुकेश राजवंशीले बताए। उनका अनुसार स्थानीय बासिन्दाबाट हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने तयारी गरिएको छ र पुल निर्माण नहुन्जेल दबाब अभियान जारी रहनेछ।














