झापा । भरत भाबुक प्रसाई
झापाको बिर्तामोड–८ मा रहेको सागर चौधरीको घर हेर्दा लाग्छ— यो कुनै साधारण घर होइन, एउटा चलचित्रको कथा जस्तै दुःख, संवेदना र आँसुले बुनेको यथार्थको घर हो। भत्किएका टाटीहरू, चुहिने छानो, र त्यसमाथि बोराले छोपिएको दृश्यले गरीबीको करुण कथा सुनाईरहेको अभास गर्न सकिन्छ ।
तीन पुस्तादेखि साहु–मार्जनको खेत रेखदेख गर्दै जिवन धान्दै आएको चौधरी परिवार विपन्नताले जरा गाडेको परिवार हो।
“अब केही गरौँ, विदेश जाऊँ, र आफ्ना आमाबुबालाई त्यो चुहिने छानाबाट निकाली सुकिलो घरमा राखौँ,” भन्ने सपना बोकेका १८ वर्षीय सागर चौधरी अचानक सवारी दुर्घटनामा परे।
घर नजिकै बाटोमा एउटा स्कुटरको ठक्करबाट उनी गम्भीर घाइते बने।

त्यसपछि सुरु भयो परिवारको दुःखद यात्रा। आफ्नो सक्दो बलले आमाबुबाले उपचारमा १६–१७ लाख रुपैयाँसम्म खर्च गरे, तर सागरको स्वास्थ्य अवस्था अझै नाजुक छ। उनको नाकबाट खाना खुवाउनुपर्छ, हातखुट्टा सुकेका छन्, र पिसाब थैली शरीर बाहिर झुण्डिएको छ।
आमा भन्छिन्, “अब मेरो शरीरमा आँसु र लगाएको यो कपडा बाहेक केही छैन। बुढेसकालको सहारा छोरा जिउँदो लासझैँ ओछ्यानमा लडेको छ, तर साहुबाट कुनै सहयोग छैन। दैव पनि निष्ठुरी रहेछ।”
सागरका बाबा अपाङ्ग छन्। दशैं र तिहार जस्ता चाडपर्वमा घरमा चामलको एउटा दाना पनि छैन। दुःख, भोक, र असहायताको यस्तो घडीमा “मेची–महाकाली बुहारी संयुक्त आवाज” संस्थाले मानवीय हात अघि बढायो।
जब संस्थाका प्रतिनिधिहरूले आमाको आँसु र पीडा देखे, उनीहरू रोकिएनन्।मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्ले, झापा संयोजक गंगा भट्टराई, सहसंयोजक रोशनी खनाल अधिकारी लगायतको टोलीले भिडियोमार्फत सहयोगी मनहरूलाई अपिल गरे।
जसको फलस्वरूप देश–विदेशबाट सहयोग आउन थाल्यो। जसकाे फलस्वरूप सहयोगी मनहरूले पनि करिब ४०–५० हजार रुपैयाँ संहयाेग गरेका थिए ।
अध्यक्ष काफ्ले भन्छिन् —
“एक जनाको प्रयासले यस्तो जटिल अवस्थाका बिरामीलाई निको पार्न कठिन हुन्छ। त्यसैले हामी सबै नेपाली मनहरूलाई एकजुट भएर सहयोग गर्न अपिल गर्छौं। सागर चौधरी हाम्रो सबैको छोरा हो, उसलाई बचाउन एक–एक कदम अघि बढाऔँ।”
फिनल्याण्डमा बसोबास गर्दै आएकी समाजसेवी गिता खड्काले सहयोगस्वरूप रु ५५ हजार रुपैयाँ पठाएकीमा
उक्त सहयोग रकममध्ये रु १८ हजार ३७५ रुपैयाँ काठमाडौँमा **जेन्जी आन्दोलनका क्रममा घाइते भई अहिले टिचिङ (ट्रमा सेन्टर)**मा उपचाररत अनिल तामाङलाई हस्तान्तरण गरिएको साथै बाँकी रकम
सागर चौधरीको उपचारका लागि ११ हजार १ सय ५ रुपैया रकम एक कार्यक्रमका बिच सागर चौधरीकी आमालाई हस्तान्तरण गरिएको अध्यक्ष काफ्लकाे भनाइ छ ।
साथै खड्काकै पहलमा करिब ६ हजार रुपैयाँ बराबरको खाद्यान्न (चामल, दाल, चिनी आदि) आज एक कार्यक्रमबीच चौधरी परिवारलाई हस्तान्तरण गरिएकाे थियाे ।

त्यो क्षणमा सागरकी आमा भावुक हुँदै भन्छिन्—
“यो पर्वको मुखमा दुई छाक पेटभरि खान पाउने बनाइदिनु भयाे , मेची–महाकाली बुहारी संयुक्त आवाजका सम्पूर्ण दिदीबहिनीहरूलाई कोटी–कोटी नमन छ , भन्दै उनले फिनल्याण्डमा रहनुभएकी गिता खड्कालाई धेरै धन्यवाद दिइन् ।
मेरो छोरालाई बचाइदिनुस्, ऊ अझै बाँच्न सक्छ, ऊ भन्थ्यो — आमा, म विदेश गएर यो चुहिने छानो फेर्छु।” उनी भाबुक बन्दै भन्छिन् ।
कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्ले, झापा संयोजक गंगा भट्टराई, सहसंयोजक रोशनी खनाल अधिकारी ,संस्थाकी आजीवन सदस्य शर्मिला उप्रेती, सदस्य निर्मला नेपाल लगायतको उपस्थिति थियो।
भत्किएको घरको त्यो दृश्य केवल एउटा परिवारको पीडा होइन—
यो हजारौँ विपन्न नेपालीहरूको मर्मस्पर्शी प्रतिनिधित्व हो। तर आशाको किरण अझै बाँकी छ —
किनभने “एक थुकी सुकी, सय थुकी नदी” जस्तै, सागर चौधरीका लागि उठेको यो अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुन्जिरहेको छ।














