झापा, असोज २७ ।
अनारमनी सोसियल युथ क्लब बिर्तामोड, झापाको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त बिर्तामोडका लागि हामी एकजुट’ भन्ने मूल नाराका साथ चौथो बिर्तामोड रनको तयारी अन्तिम चरणमा पुगेको छ।

झापाको सैनिक बजारस्थित वडा नम्बर १० को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत क्लबका अध्यक्ष राज मुखियाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो।

सिलिकन एजुकेसन नेटवर्क मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिता आगामी कार्तिक १ गते सैनिक बजारबाट सुरु भई विराट पोखरी हुँदै बिर्तामोड नगरपालिकामा समापन गरिने छ।


4

  हालसम्म अनलाइन र अफलाइन माध्यमबाट १४५ भन्दा बढी प्रतियोगीले आवेदन दर्ता गराइसकेकाे  कार्यक्रमका संयोजक संजय पौडेलले बताउनु भयाे ।

पौडेलका अनुसार दौडमा सहभागी प्रतिस्पर्धीले ६ किलोमिटर दूरी तय गर्नुपर्नेछ। प्रतियोगितामा सहभागीमध्ये कुनै दुर्घटना भए हिमालयन एभरेस्ट इन्सुरेन्सबाट १ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराइनेछ।

अध्यक्ष राज मुखियाले क्लबले २०७० सालमा स्थापना भएदेखि खेलकुद र सामाजिक क्षेत्रका गतिविधिहरू निरन्तर गर्दै आएको जानकारी दिनुभयो।

उहाँले युवालाई कुलत र दुर्व्यसनबाट टाढा राख्दै स्वास्थ्यपूर्ण र सामाजिक जीवन तर्फ उन्मुख गराउन क्लबले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो।

अध्यक्ष मुखियाले खेलकुद, सरसफाइ, वृक्षारोपण र लागू औषध नियन्त्रणजस्ता सामाजिक अभियानमा क्लबले निरन्तर सक्रियता देखाउँदै आएको उल्लेख गर्दै स्वास्थ्य र सचेत समाज निर्माणमा यस्ता कार्यक्रमले ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

प्रतियोगितामा पुरुष र महिला दुबै वर्गका विजेतालाई जनही नगद २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

IMG_7663

त्यस्तै १०० जना सहभागीलाई निःशुल्क जर्सी वितरण र सबैलाई प्रमाणपत्र प्रदान गरिने जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङले युवाहरूलाइ दुर्व्यसनबाट टाढा राख्न यस्ता खेलकुद कार्यक्रम अत्यन्तै उपयोगी हुने बताउनुभयो।

उहाँले वडा कार्यालय र बिर्तामोड नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।


mukhiya

अनारमनी सोसियल युथ क्लबका सचिव रुपेश तिम्सिनाले खेलप्रेमी नागरिक र स्थानीय संस्थाहरूलाई कार्यक्रम सफल बनाउन सहयोग गर्न अपिल गर्नुभयो।

उहाँले ट्राफिक प्रहरी, इलाका प्रहरी र स्वयंसेवकको सहयोगमा रुट व्यवस्थापन गरिने जानकारी दिनुभयो।

कार्यक्रम सम्पन्न गर्न करिब २ लाख ७५ हजार रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजकका अनुसार यस वर्ष ५ सय   बढी सहभागी रहने अपेक्षा गरिएको छ।

2-1

 अनारमनी सोसियल युथ क्लबले आयोजना गर्न लागेको बिर्तामोड रन प्रतियोगिता सञ्चालन बाट बचेको रकमले लागुपदार्थ न्युनिकरणका क्षेत्रमा खर्च गर्ने बताएको छ ।