झापा, असोज ३० । अनुसा प्रसाई ,
झापाको गौरादह नगरपालिका–९ स्थित खजुरबारीमा पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।
आज दिउँसो करिब १ बजेर १० मिनेटको समयमा अन्जु मगरकी छोरी वर्ष ९ की स्विकृति मगर, वर्ष ७ की सुस्मा मगर, र रोमन (मोते) परियारकी छोरी वर्ष ११ की रोश्नी परियार कृष्ण खोलामा जमेको पानीमा माछा मार्न गएका बेला डुबेका थिए ।
साथै उनीहरूसँग गएकी राजकुमार राईकी छोरी वर्ष १० की युनिसा राईले घटना देख्नेबित्तिकै अभिभावकलाई जानकारी गराएकी थिइन्। ।
स्थानीयवासी र परिवारजनले तत्कालै तीनै जनालाई पानीबाट निकालेर बाहिर ल्याए पनि उनीहरूलाई ज्यान बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी स्थानीयवासीमार्फत दिइएपछि अस्थायी प्रहरी चौकी बैगुनधुरा र इलाका प्रहरी कार्यालय झिलझिलेको टोली घटनास्थल पुगेको छ।
अहिले घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।














