बिर्तामोड, भरत प्रसाई ।

झापाको प्राचीन, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको कञ्चनगढ धाम साधुकुटीमा यस वर्ष पनि भव्य ‘श्रीमद् सौर्य महापुराण धनधान्याञ्चल विराट ज्ञान महायज्ञ’ आयोजना गरिने भएको छ।

गौरीशंकर शिवालय गायत्री स्वरूपाश्रम संरक्षण समितिको आयोजनामा हुन लागेको यो धार्मिक महायज्ञ २०८२ साल कार्तिक २६ गतेदेखि मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ।

भौगोलिक दृष्टिले हेर्दा, कञ्चनगढ धाम बिर्तामोडबाट करिब तीन किलोमिटर पश्चिम र महेन्द्र राजमार्गको चारपानी चोकबाट दक्षिणतर्फ सात किलोमिटरको दूरीमा रहेको रमणीय स्थल हो।

पारदर्शी सामुदायिक वनले घेरेको लगभग चार बिघा क्षेत्रफलमा फैलिएको यो धाममा अहिले शिवालय, दुर्गा, सन्तोषी माता, सरस्वती मन्दिर तथा वेदान्त शिक्षाको गुरुकुल सञ्चालनमा छ।

     ऐतिहासिक र पौराणिक गाथासँग जोडिएको स्थल

जनश्रुतिअनुसार, द्वापर युगमा पाण्डवहरूले गुप्तवासको समयमा यही क्षेत्रमा गोवंशको संरक्षण गरेका थिए। कौरवद्वारा लुटिएका गाई फिर्ता ल्याई यही ठाउँमा गोठ बनाई बसेका र पछि किचक वधपछि कञ्चनपोखरी निर्माण गरी स्नान गरेर शिवस्थापना गरेका कथन पाइन्छ।

पुरातत्वविद्हरूका अनुसार यही स्थलमा प्राचीन साधुसन्त, योगी र महन्तहरू बसोबास गर्थे, जसका कारण यस क्षेत्रलाई ‘साधुकुटी’ भनेर चिनिन्छ।

महाभारतको विराट र वनपर्व अध्ययन गर्दा पनि यो स्थल ऐतिहासिक दृष्टिले महत्वपूर्ण ठहरिन्छ। यहींबाट शासन गर्ने धार्मिक राजा शैलेश र उहाँका वंशका नामबाट नै ‘कञ्चनगढ’ नाम रहन गएको विश्वास छ।

गुरुकुलदेखि १०८ शिवलिङ्ग मन्दिरसम्मको यात्रा

वि.सं. २०५८ मा लक्ष्य हवन आरम्भ गरी दैनिक हवन निरन्तर भइरहेको छ भने २०५९ सालमा गायत्री स्वरूप महाराजको आगमनसँगै बालिएको अखण्ड दीप आजसम्म बलिरहेको छ।

२०७८ सालमा नेपालका वरिष्ठ वेदान्तविद् डाक्टर स्वामी रामानन्द गिरिज्यूको निर्देशनमा स्थापना गरिएको गौरीशंकर ब्रह्म विद्यापीठ अहिले विशाल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ।

संरक्षण समितिका संयोजक ज्ञान सुवेदीका अनुसार,“यो धामलाई केवल मन्दिरको रूपमा होइन, सबै जातजाति र समुदायका छोराछोरीलाई गुरुकुल पद्धतिबाट शिक्षित गर्ने आध्यात्मिक केन्द्रको रूपमा विकास गर्ने हाम्रो दीर्घकालीन सपना हो,”

भन्दै उहाँले महायज्ञमा सहभागिताका लागि सम्पूर्ण श्रद्धालु, समाजसेवी र उद्योगी व्यवसायीलाई आमन्त्रण गर्नुभएको छ।

महायज्ञ आयोजक सचिव पुष्प भट्टराईले भने, “धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्दै, कञ्चनगढलाई राष्ट्रिय धार्मिक पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्ने हाम्रो उद्देश्य हो। यस अभियानमा सबैको साथ–सहयोग अपरिहार्य छ,”

भन्दै उहाँले कार्यक्रमको सम्पूर्ण प्रसारण अधिकृत फेसबुक पेजमार्फत प्रत्यक्ष हेर्न सकिने जानकारी दिनुभयो।

महायज्ञमा प्रख्यात धर्मगुरुहरूको प्रवचन

महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुप्रसिद्ध कथावाचक धर्मगुरु आचार्य किशोर गौतम र आचार्य दामोदर न्यौपानेका सान्निध्यमा भक्तजनहरूले आध्यात्मिक ज्ञान र संस्कारको गहिरो अनुभूति गर्न पाउनेछन्।

प्रत्येक दिन प्रख्यात सन्त र गुरुहरूले प्रवचन दिने कार्यक्रम रहेको छ।

भक्तजनहरूको सहजताका लागि खाने र बस्ने व्यवस्थासहित सम्पूर्ण पूर्वाधार तयार गरिएको संयोजकले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनको सहजीकरण समितिका सहसचिव मनोज खतिवडाले गर्नुभएको थियो।