झापा, बिर्तामोड ।
झापाको बिर्तामोड–५ स्थित न्युटन एजुकेसन एकेडेमी तथा एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका संस्थापक स्व. हरि प्रसाईको ७४औं जन्मदिवसको अवसरमा शुक्रबार गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयलाई भौतिक संरचना स्तरउन्नतिको लागि ५१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ।
बिर्तामोड स्थित बिर्तापार्टी प्यालेसमा आयोजित कार्यक्रममा दुर्गा मा.वि.का प्रधानाध्यापक लक्ष्मण शिवाकोटीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो।
चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष धर्मा पराजुली प्रसाईं, विद्यालयका निर्देशक आशिष प्रसाई, न्युटन एकेडेमीका प्रधानाध्यापक देवेन्द्र हुमागाई, प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारी, वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाई, हिसन झापाका कार्यवाहक अध्यक्ष उत्तम खनाल, नगर प्याप्सन बिर्तामोडका सचिव दिवाङ्कर मैनाली लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुमा दिवंगत संस्थापक हरि प्रसाईको तस्वीरमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका निर्देशक आशिष प्रसाईले स्व. प्रसाईले बोकेको शैक्षिक सपनालाई साकार पार्न आफ्नो नेतृत्व सदैव समर्पित रहने प्रतिवद्धता व्यक्त गरे।
उनले आफ्ना पिता स्व. हरि प्रसाईले स्थापना गरेको संस्थालाई अझ उचाइमा पु-याई शैक्षिक उन्नयनमा योगदान गर्ने लक्ष्य राखेको बताए।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाईंले संस्थापक प्रसाईले अध्ययन गरेको ताप्लेजुङ, हाम्पाङस्थित सरस्वती डीएसपी माध्यमिक विद्यालयमा ३ लाख ५१ हजार बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरे।
उक्त कोषबाट प्राप्त व्याजले निम्न आय भएका विद्यार्थीलाई निःशुल्क अध्ययनको सुविधा उपलब्ध गराइने उनले जानकारी दिए।
उनीले झापाको आदर्श विद्यामन्दिर घैला डुब्बामा पनि सोही रकम बराबरको अर्को अक्षयकोष स्थापना गरी एक जना आर्थिक रूपमा कमजोर विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने योजना रहेको बताए।
त्यस्तै बिर्तामोड–६ स्थित सरस्वती मा.वि.बुटाबारीमा पनि साेही रकम बराबरको अक्षयकोष स्थापना गरी निम्न आय भएका छात्र–छात्रालाई निःशुल्क पढाइमा सहजीकरण गरिने उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथि तिलचन भण्डारीले अभिभावकले केवल अंक र ग्रेडमा मात्र नभई बालबालिकाको समग्र व्यक्तित्व विकासमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए।
दुर्गा मा.वि.का शिक्षक कृष्ण पौडेलले हरि प्रसाई शैक्षिक उत्थानका लागि समर्पित व्यक्तित्व भएको उल्लेख गर्दै, गरिएको सहयोगले बालबालिकाको शैक्षिक आकांक्षा पूरा गर्न ठूलो योगदान पुग्ने बताए।
कार्यक्रममा उद्योग वाणिज्य संघ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु घिमिरे, शिक्षक महासंघ बिर्तामोडका सदस्य युवराज कटेल, शिक्षक महासंघ सचिव उमा भण्डारी, अभिभावक नरेन्द्रप्रसाद सुवेदी, बिनोद तामाङ, एभरेस्ट स्मार्ट एजुकेसनका प्रिन्सिपल अनुप शर्मा, पत्रकार भरतप्रसाद सन्तोष न्यौपाने, देव बास्कोटा लगायत शिक्षक, अभिभावक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन बाल संचार मञ्चका संयोजक तथा पत्रकार सरोज पौडेलले गरेका थिए।














