बुद्वशान्ति । पाँचपोखरी चौतारी स्थापनामा विशेष भूमिका निर्वाह गरेका स्वर्गीय वासुदेव खतिवडाको स्मृतिमा चौतारीमा आउने जेष्ठ नागरिकका लागि लौरो र कुर्सी सहयोग प्रदान गरिएको छ।

परिवारका सदस्यको अनुपस्थितिमा जेष्ठ नागरिकलाई सहाराको माध्यम बन्ने विश्वासका साथ उक्त सामग्री हस्तान्तरण गरिएको खतिवडा परिवारले जनाएको छ।

कार्यक्रम जनज्योति आधारभूत विद्यालयकी पूर्व शिक्षिका श्रीमती हेमन्त खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रमुख अतिथिका रूपमा जेष्ठ चौतारीका अध्यक्ष एवं पूर्व शिक्षक यादवमणि दहाल, भेषराज पवित्रा प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा, तेराख प्रतिष्ठानका संरक्षक संजय खतिवडा तथा समाजसेवी हरिनारायण चौधरीको उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै समाजसेवी हरिनारायण चौधरीले स्व. खतिवडाले १९ वर्षसम्म निरन्तर खानेपानी समिति, पाँचपोखरी बन उपभोक्ता समिति, आधुनिक सुपारी खेती, माछापालन, मठ–मन्दिर स्थापना लगायतका क्षेत्रमा पुर्‍याएको योगदान स्मरण गर्दै उहाँको निधनले गाउँले समाजलाई अपूरणीय क्षति पुगेको बताए।


f224e068-68e5-4c7d-aba7-10456e246e76

त्यसैगरी छविलाल खतिवडाले स्व. वासुदेव खतिवडाको नाममा स्मृति प्रतिष्ठान स्थापना गरी उहाँका कर्म र योगदानलाई संस्थागत गर्नुपर्ने सुझाव व्यक्त गरे।

यसै अवसरमा खतिवडा परिवारका छोरा नितेस खतिवडा, बुहारी अस्मिता खतिवडा र छोरी जुनु खतिवडाको पहलमा श्रीमती हेमन्त खतिवडाको कर्मथलो जनज्योति आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि दिवा भोजको व्यवस्था गरिएको थियो।

जेष्ठ नागरिक, समाजसेवी तथा परिवारजनको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रमको स्वागत तथा सञ्चालन सुरेस खतिवडाले गरेका थिए।