इलाम ।  मेची महाकाली बुहारी संयुक्त आवाजकी संस्थापक अध्यक्ष तथा हाल अन्तर्राष्ट्रिय अध्यक्ष यमु शर्मा पौडेलको २२औँ वैवाहिक वर्षगाँठको अवसरमा इलामको माङ्सेबुङ–४ स्थित विद्या सृजनात्मक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा  स्विटर वितरण गरिएको छ।


मेची महाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला संयोजक गङ्गा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले प्रमुख अतिथि रहनुभएको थियो भने विद्यालयका प्रधानाध्यापक शक्तिकुमार साव विशेष अतिथि रहनुभएको थियो।


संस्थाले संस्थापक अध्यक्ष पौडेलको वैवाहिक वर्षगाँठको अवसर पारेर जाडोको मौसमलाई ध्यानमा राख्दै विपन्न तथा साना बालबालिकालाई स्वेटर र विभिन्न शैक्षिक सामग्री वितरण गरेको हो।

कार्यक्रममा सरस्वती आधारभूत विद्यालय दमककी शिक्षिका रिता आचार्य, झापा जिल्ला सदस्य चन्दा उप्रेती, कमल उपशाखा संयोजक चन्द्रकला सुब्बा, दमक उपशाखा संयोजक एलिसा ओली, दमक उपशाखा कोषाध्यक्ष इन्दिराज आचार्य लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा कमल गाउँपालिका संयोजक चन्द्रकला सुब्बाले उपस्थित अतिथी तथा विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो।

शुभकामना मन्तव्य व्यक्त गर्दै शिक्षिका रिता आचार्यले मेची महाकाली बुहारी संयुक्त आवाज पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बुहारीहरूको आवाजको प्रतीक बनेको बताउनुभयो।


विद्यालयका प्रधानाध्यापक शक्तिकुमार सावले दुर्गम तथा विपन्न क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री तथा  स्विटर वितरण  गरेकोमा संस्थालाई धन्यवाद दिँदै संस्थापक अध्यक्ष यमु शर्मा पौडेलले मेची र महाकालीका महिलालाई जोड्ने सामाजिक अभियानमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।


प्रमुख अतिथि तथा केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले संस्थापक अध्यक्ष यमु शर्मा पौडेल र उहाँका श्रीमान रोशन पौडेलको वैवाहिक २२औँ वर्षगाँठको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।

उहाँले संस्थामा कठिन परिस्थिति आउँदा समेत संस्थापक अध्यक्षको भावना, विचार र ऊर्जाले संस्थालाई निरन्तर अघि बढाएको बताउनुभयो।

उहाँले माङ्सेबुङ–४ इलामका स्थानीय दिदीबहिनीहरूलाई संस्थामा आबद्ध भई हक–अधिकार र समस्यामा आपसी सहयोग गर्न आग्रह गर्नुभयो।


कार्यक्रमको सञ्चालन झापा जिल्ला सह–संयोजक रोशनी खनालले गर्नुभएको थियो।

मेची महाकाली बुहारी संयुक्त आवाजले विद्यालयमा अध्ययनरत ४५ जना छात्रछात्रा तथा साना बालबालिकालाई करिब २२ हजार रुपैयाँ बराबरको स्वेटर तथा स्टेशनरी सामग्री वितरण गरेको जनाएको छ।