काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरहरूमाथि पूर्ण नाकाबन्दी गर्न आदेश दिएका छन् ।

सामाजिक संजाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले भेनेजुएलामाथि आतंकवाद, लागूऔषध तस्करी र मानव तस्करीमा संलग्न भएको आरोप लगाएका छन् । उनले लेखेका छन्, “आज म भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरहरूको पूर्ण र सम्पूर्ण नाकाबन्दीको आदेश दिइरहेको छु ।”

यो आदेश आउनुभन्दा एक हप्ताअगाडि मात्र अमेरिकाले भेनेजुएलाको तटनजिकै एउटा तेल ट्यांकर नियन्त्रणमा लिएको थियो । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले उक्त कदमलाई ‘समुद्री लुट’ भनेका थिए ।

ट्रम्पको यो नयाँ आदेशले अन्तर्राष्ट्रियस्तरमा तेलको मूल्यमा ठूलो हलचल आउने अनुमान गरिएको छ ।

अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्नो वायुसेना र नौसेना तैनाथ गरेको छ । यसमा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी, जासुसी विमान र १५ हजार सैनिक छन् ।

अमेरिकाले यस क्षेत्रमा लागूऔषध तस्करले संचालन गरेको भन्दै धेरै डुंगामाथि आक्रमण गरेको छ, जसमा अहिलेसम्म ८० भन्दा बढी मानिसहको मृत्यु भएको छ ।बीबीसी