बिर्तामोड, झापा।
झापाको बिर्तामोड–४ मा अवस्थित इडन गार्डेन एजुकेसन फाउन्डेसनले “नेपालको शैक्षिक सन्दर्भमा विद्यार्थीहरूका लागि एआई कार्यान्वयनका चुनौती र भावी मार्ग” विषयक अन्तरविद्यालय स्तरीय प्रतिस्पर्धात्मक प्यानल डिस्कसन प्रतियोगिता सम्पन्न गरेको छ।

प्रतियोगितामा कञ्चनजङ्गा बोर्डिङ स्कुल, लिटल फ्लावर बोर्डिङ स्कुल, कन्काई बोर्डिङ स्कुल, बिर्ता मोडेल स्कुल, तक्षशिला बोर्डिङ स्कुल, लिबर्टी अंग्रेजी विद्यालय, एभरेस्ट स्मार्ट स्कुल, एमिटी अङ्ग्रेजी विद्यालय, इडन गार्डेन बोर्डिङ स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

सहभागी विद्यार्थीहरूले नेपालको शैक्षिक क्षेत्रमा एआईको प्रयोग, त्यसका सम्भावना, चुनौती तथा सही उपयोगका विषयमा आफ्नो तर्कसहित धारणा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा एभरेस्ट स्मार्ट स्कुलका दिङ्माङ लिम्बु प्रथम, लिटल फ्लावर बोर्डिङ स्कुलका परिधि पाठक द्वितीय तथा तक्षशिला बोर्डिङ स्कुलका मानस ओडारी तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
विद्यार्थी प्यानल डिस्कसनको सहजीकरण इडन गार्डेन बोर्डिङ स्कुलका शिक्षक खेमराज शर्माले गर्नुभएको थियो।
सञ्चारकर्मी तथा शिक्षक उमाकान्त खनाल, शिक्षक धर्मेन्द्र मामा भट्टराई र शिक्षक केशव उप्रेती निर्णायक मण्डलमा रहनुभएको थियो।

इडन गार्डेन बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल मोहन आचार्यको अध्यक्षतामा तथा बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई निर्णायकद्वय उ खनाल र भट्टराईले खादा, प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरी सम्मान गर्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य मुस्कान बेगमले राख्नुभएको थियो।
कार्यक्रमले विद्यार्थीहरूलाई आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगप्रति सचेत बनाउँदै भविष्यको शिक्षामा प्रविधिको भूमिकाबारे गहिरो बुझाइ दिन सहयोग पुगेको विद्यालयका शिक्षक तथा को–अर्डिनेटर गीताराम आचार्यले जानकारी दिनुभयो।

संस्थापक प्रिन्सिपल मोहन आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रविधिले गरेको तीव्र विकाससँगै विद्यार्थीहरूमा त्यससम्बन्धी चेतना, ज्ञान र बुझाइ कति छ भन्ने कुरा पहिचान गर्न अन्तरसंवादसहितको प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँले इडन गार्डेन एजुकेसन फाउन्डेसनले शिक्षामा देखिएका परिवर्तन र त्यसबाट सिर्जित चुनौतीका विषयमा विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापनबीच निरन्तर छलफल गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी दिनुभयो।
प्यानल डिस्कसनका क्रममा निर्णायक तथा संसारकर्मी उमाकान्त खनालले विद्यार्थीहरूको प्रस्तुति अत्यन्तै उत्कृष्ट, फरक–फरक दृष्टिकोणयुक्त र परिस्कृत रहेको उल्लेख गर्दै इडन गार्डेन एजुकेसन फाउन्डेसनलाई धन्यवाद ज्ञापन गर्नुभयो।
उहाँले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक उन्नयनमूलक कार्यक्रमहरू निरन्तर आयोजना गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।














