बिर्तामोड, झापा । बिर्तामोड नगरपालिका–७ मा रहेको बेल्स मोडल अङ्ग्रेजी विद्यालयले आफ्नो वार्षिक शैक्षिक एक्जिबेशन २०८२ भव्य रूपमा सम्पन्न गरेको छ।
झापाका विभिन्न विद्यालयबाट आएका २५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको उक्त एक्जिबेशनमा विद्यार्थीहरूले आफैंले तयार पारेका प्रयोगात्मक शैक्षिक सामग्रीहरू प्रदर्शनीका रूपमा राखिएका थिए।
प्रदर्शनीमा विज्ञान, गणित, नेपाली र अङ्ग्रेजी विषयसँग सम्बन्धित २५० भन्दा बढी शैक्षिक सामग्रीहरू प्रस्तुत गरिएको विद्यालयका प्रधानाध्यापक तारा प्रसाईले जानकारी दिनुभयो।
उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यावहारिक ज्ञान, सिर्जनात्मक क्षमता र आलोचनात्मक सोचको विकासमा ठूलो योगदान पुर्याउने गर्दछ।
शैक्षिक एक्जिबेशनको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वडा अध्यक्ष कृष्ण अविरल खरेललगायतले संयुक्त रूपमा गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल तारा प्रसाईले पुस्तकमा सीमित ज्ञानलाई वास्तविक जीवनसँग जोड्न प्रयोगात्मक सिकाइ अत्यन्त प्रभावकारी हुने बताउनुभयो।
उहाँले यस्ता शैक्षिक प्रदर्शनीहरूले विद्यार्थीलाई सिकाइप्रति उत्साहित र जिम्मेवार बनाउने उल्लेख गर्नुभयो।
कार्यक्रमा प्याब्सन झापाका अध्यक्ष छत्र कार्कीले अहिले सम्मकै भिन्न शैक्षिक प्रदर्शनीका रुपमा आफुले पाएको बताउनुभयो । उहाँले यस्तो कार्यक्रमले विद्यार्थीहरुलाई सृजनशील बनाउन ठुलो मद्वत पुग्ने बताउनुभयो ।
प्रदर्शनी अवलोकनका लागि बिर्तामोड नगरका अन्य १० वटा विद्यालयका विद्यार्थीहरू समेत सहभागी भएका थिए।
आफ्ना बालबालिकाले तयार पारेका सामग्री हेर्न अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमले थप रौनक पाएको थियो।
हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् भने योग्य शिक्षक तथा कर्मचारीको सक्रिय सहभागिता रहेको जनाइएको छ।
विद्यालयका अध्यक्ष जयकुमार प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक तारा प्रसाईले शैक्षिक प्रदर्शनीको औचित्य र महत्व माथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि तथा बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बेल्स मोडल अङ्ग्रेजी विद्यालयद्वारा आयोजित कार्यक्रमलाई रोचक, पृथक र शिक्षण–सिकाइको उत्कृष्ट नमुनाको रूपमा प्रशंसा गर्नुभयो।
प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाईले विद्यार्थीहरूले पुस्तक पढेर भन्दा प्रयोगात्मक तरिकाले अध्ययन गरेका विषयवस्तु छिटो र गहिरो रूपमा बुझ्ने बताउँदै यस किसिमको सिकाइ विद्यार्थीमैत्री र प्रभावकारी हुने बताउनुभयाे ।
साथै उहाँले नगरका अन्य विद्यालयहरूले पनि यस्तै सिर्जनात्मक, फरक र विद्यार्थी केन्द्रित कार्यक्रमहरू आयोजना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
शैक्षिक एक्जिबेशनले सिकाइलाई जीवनोपयोगी बनाउँदै गुणस्तरीय शिक्षातर्फ एक सशक्त कदम चालेको सहभागीहरूको धारणा रहेको थियो।














