बिर्तामोड, झापा ।
झापाको बिर्तामोड नगरपालिका–३ मा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलले ईसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा, नाक तथा कान स्वास्थ्य स्क्रिनिङ कार्यक्रम सम्पन्न गरेको छ।

बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब ७० जना बालबालिकाहरूको आँखाको दृष्टि, नाक तथा कानसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो।
बालबालिकामा देखिन सक्ने सम्भावित स्वास्थ्य समस्याको समयमै पहिचान, आवश्यक उपचार तथा परामर्श प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष तथा शिक्षा शाखा समितिका सदस्य किशोरकुमार पौडेलले बालबालिकाको स्वास्थ्यप्रति विद्यालयले देखाएको चासो प्रशंसनीय रहेको बताउँदै यस्ता स्वास्थ्य जाँच कार्यक्रमहरूले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो।
विद्यालयका सञ्चालक पौडेलका अनुसार बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि नियमित स्वास्थ्य परीक्षण आवश्यक हुने भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
उहाँले सहकार्यका लागि बिर्तामोड आँखा अस्पतालप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा बिर्तामोड आँखा अस्पतालका चिकित्सकहरू सन्जु अर्याल, गणेश खड्का र इन्द्रबहादुर केसीले आँखा, नाक तथा कानको स्क्रिनिङ तथा परीक्षण गर्नुभएको थियो। कार्यक्रममा सहभागी सबै बालबालिका र अभिभावकहरूले निःशुल्क स्वास्थ्य जाँचबाट प्रत्यक्ष लाभ लिएका छन्।
विशिष्ट अतिथि नेपाल पत्रकार महासङ्घ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपानेले बाल मनोविज्ञान बुझेर शिक्षण सिकाइ अगाडि बढाउनुपर्ने बताउँदै यस्ता कार्यक्रमहरूले बालबालिकालाई स्वस्थ र चरित्रवान बन्न प्रेरित गर्ने धारणा राख्नुभयो।

यसैगरी, शान्तिटोल विकास समितिका अध्यक्ष नन्दकुमार अधिकारीले बालबालिकाको स्वास्थ्यप्रति चिन्तन गर्दै निःशुल्क परीक्षण कार्यक्रम आयोजना गरेकोमा लिङ्कन मन्टेश्वरीलाई धन्यवाद दिँदै विद्यालयको कार्यको प्रशंसा गर्नुभयो।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ बिर्तामोडका कोषाध्यक्ष युवराज निरौला, बिर्तामोड आँखा अस्पतालका सञ्चालक विनोद दाहाल र भरत सापकोटा, न्युटन एजुकेसन अङ्ग्रेजी विद्यालयकी शिक्षिका पवित्र पौडेल, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

विद्यालय सञ्चालक पौडेलका अनुसार लिङ्कन मन्टेश्वरीलाई बालमैत्री विद्यालयका रूपमा स्थापित गर्दै प्रत्येक वर्ष तीन पटक बालबालिकाको स्वास्थ्य परीक्षण तथा शिक्षकहरूलाई कम्तीमा चार पटक शैक्षिक प्रशिक्षण प्रदान गर्दै आइरहेको छ।
विद्यालयले बालबालिकालाई संस्कार, धर्म, सांस्कृतिक पहिचान र नैतिक मूल्यसँग जोड्दै विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयप्रति आभार व्यक्त गर्दै बालबालिकाको समग्र विकासका लागि गरिने यस्ता भिन्न र प्रभावकारी कार्यक्रमले विद्यालयप्रतिको विश्वास अझ मजबुत बनेको प्रतिक्रिया दिएका छन्।














