बिर्तामोड, १३ पुस :  बिर्तामोडमा स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

बिर्तामोड नगरपालिकाको आयोजनामा वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कुलको खेलमैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो। नगर प्रमुख पवित्रा महतारा प्रसाईँले औपचारिक कार्यक्रमका बीच पानसमा दीप प्रज्वलन गरी रनिङ शिल्ड अनावरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो । 

प्रतियोगितामा ३८ वटा विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थी सहभागी रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिनुभयो।

भोलिसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, उसु, तेक्वान्दो, कराते लगायत विभिन्न खेल विधा समावेश गरिएका छन्।


48a443bb-784e-46bb-84e3-7f652174aefb

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले विद्यार्थीहरूको खेलकुद क्षेत्रमा हुने समग्र विकासका लागि यस्ता प्रतियोगिता प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। फरक–फरक विद्यालयका विद्यार्थीहरूसँग हुने प्रतिस्पर्धाले तयारी र क्षमता विकासमा सहयोग पुग्ने उहाँको भनाइ थियो।

यसैगरी, नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेलले आगामी दिनमा शतप्रतिशत विद्यालयहरूको सहभागिता सुनिश्चित गरिने बताउनुभयो।

उहाँले यस वर्षदेखि बिर्तामोड नगरपालिकाले रनिङ शिल्डको व्यवस्था गरेकोमा खुसी व्यक्त गर्नु भयो । 

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर ३ वडाअध्यक्ष मदन बुढाथोकी, नगर कार्यपालिका सदस्य तिला गौतम, वरिष्ठ योजना अधिकृत जय तिम्सिनालगायत विभिन्न विद्यालयका शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। 

रनिङ शिल्ड लगातार तीन वर्ष जितेपछि मात्र स्थायी रूपमा प्रदान गरिने व्यवस्था छ ।