नेपालकै भू–भागभित्र रहे पनि वर्षौंदेखि राज्यको दृष्टिबाट ओझेलमा परेको मेचीपारीको ग्वाला बस्ती, जमिरगढी आज केही घण्टाका लागि भए पनि आत्मीयता, माया र आशाले उज्यालो बनेको छ।

20251228_145028

मेची महाकाली बुहारी संयुक्त आवाजले आफ्नै झापा जिल्ला संयोजक गङ्गा भट्टराईको जन्मदिनलाई मानवीय र स्मरणीय बनाउँदै दुर्गम बाटा, खोला–नाला र कठिन यात्रा पार गरी श्री मेची प्राथमिक विद्यालय, मेचीनगर–१५ (ग्वाला बस्ती, जमिरगढी) मा अध्ययनरत साना बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको हो।

बर्खायाममा खोलामा पानी बढ्दा आवत–जावत असम्भव हुने भएकाले यो विद्यालय वर्षमा केवल छ महिनामात्र सञ्चालन हुने गरेको छ।


73867ae5-a5f7-4506-943e-dc3a24478136

शिक्षक–शिक्षिका विद्यालयसम्म पुग्न नसक्ने बाध्यताका कारण बालबालिकाहरू नियमित शिक्षाबाट वञ्चित हुनुपरेको पीडा स्थानीयवासीले कार्यक्रममा व्यक्त गरेका थिए।

कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता झापा जिल्ला संयोजक गङ्गा भट्टराईले गर्नुभएको थियो।

विशिष्ट अतिथिका रूपमा विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलिया र शिक्षिका रमादेवी ढकालको उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा संस्थाकी सहसंयोजक रोशनी खनाल अधिकारी, सहसचिव आर्जु खतिवडा, झापा जिल्ला सदस्य चन्दा उप्रेती, सदस्य मनिषा ढुंगेलसहित मेची महाकाली बुहारी संयुक्त आवाज झापा जिल्ला कार्यसमिति परिवारको सक्रिय सहभागिता रहेको थियो।

विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई स्कुल स्विटर, जुत्ता, मोजा, टोपी तथा स्टेशनरी सामग्री वितरण गरिएको कार्यक्रममा अभिभावक र बालबालिकाहरू भावुक बनेका थिए।

विद्यालय नजिकै बसोबास गर्ने स्थानीय सुमी हस्ताले वर्षायाममा पुल नहुँदा खोला तर्न नसक्ने अवस्था, उपचारका लागि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता र छोराछोरीको शिक्षाप्रतिको चिन्ता व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्रकला काफ्लेले शिक्षा नै परिवर्तनको मूल आधार भएको उल्लेख गर्दै नेपालकै भूगोलभित्र रहेर पनि यति ठूलो पीडा भोग्नुपरेको अवस्था देख्दा मन अत्यन्तै दुखेको बताउनुभयो।

2af4958e-68ed-4502-aa69-9c97cea42fa2

उहाँले आगामी दिनहरूमा पनि मेची महाकाली बुहारी संयुक्त आवाजले यस्ता दुर्गम बस्तीका बालबालिका र स्थानीयवासीहरूलाई लक्षित गरी निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले संस्थाकी अन्तर्राष्ट्रिय अध्यक्ष तथा संस्थापक अध्यक्ष यमन शर्मा पौडेलको योगदान स्मरण गर्दै मेचीदेखि महाकालीसम्मका बुहारीहरूलाई सामाजिक सेवामा एकताबद्ध गर्न उहाँले दिएको प्रेरणाको प्रशंसा गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलियाले यो विद्यालयलाई “मेचीपारीको विद्यालय” भनेर सम्बोधन गरिँदै आएको भए पनि यो मेचीनगर नगरपालिकाभित्रै पर्ने सरकारी विद्यालय भएकाले सबै सरोकारवालाको समान ध्यान जान आवश्यक रहेको बताउनुभयो। जन्मदिनजस्तो विशेष अवसरमा सुविधा सम्पन्न स्थान छोडेर साना बालबालिकाको माझमा आएर न्यानो सहयोग गरिएकोप्रति उहाँले संस्थाप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

विद्यालयकी शिक्षिका रमादेवी ढकालले साना बालबालिकाको अनुहारमा मुस्कान ल्याउने उद्देश्यले गरिएको यो सहयोगले विद्यालय परिवारलाई ठूलो ऊर्जा र हौसला प्रदान गरेको बताउँदै उपस्थित सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमकी अध्यक्ष तथा झापा जिल्ला संयोजक गङ्गा भट्टराईले आफ्नो जन्मदिन साना भाइबहिनीहरूसँग मनाउन पाउँदा आफू अत्यन्तै भावुक र हर्षित भएको प्रतिक्रिया दिँदै भन्नुभयो,

“बालबालिका भोलिका परिवर्तनका संवाहक हुन्। उनीहरूको शिक्षा र भविष्यका लागि स्थानीय तह, नागरिक समाज र हामी सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी लिनुपर्छ।”

लामो र कठिन यात्रा तय गर्दै मेची महाकाली बुहारी संयुक्त आवाजको झापा जिल्ला कार्यसमिति परिवार ग्वाला बस्ती जमिरगढी पुग्दा अभिभावक र बालबालिकाहरू निकै भावुक बनेका थिए। “हामी नेपालमै भएर पनि नेपालसँग भावनात्मक रूपमा टाढा पारिएका छौँ,” भन्ने अभिभावकहरूको गुनासोले कार्यक्रमलाई अझै संवेदनशील बनाएको थियो।

आज त्यहाँ वितरण गरिएको न्यानो कपडाभन्दा पनि ठूलो उपलब्धि भनेको—उपेक्षित बस्तीका बालबालिकाको मनमा रोपिएको माया, आशा र आत्मीयताको बीउ हो।