झापा । भरत प्रसाई

झापाका १०० भन्दा बढी सामाजिक संघ–संस्थाहरूले सन् २०२६ लाई ‘पठन संस्कृति वर्ष’ का रूपमा मनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

“पढौँ, अघि बढौँ” भन्ने मूल नारासहित ज्ञान, चेतना र सशक्त समाज निर्माणका लागि पठन संस्कृतिलाई सामाजिक आन्दोलनका रूपमा स्थापित गर्ने उद्देश्यले उक्त अभियान अघि बढाइएको हो ।

घोषणापत्रमार्फत अभियानकर्मीहरूले पुस्तक, पत्रिका तथा डिजिटल सामग्रीसँग निरन्तर सम्बन्ध राख्न प्रेरित गर्दै पठनलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने लक्ष्य लिएका छन् ।

विद्यालयीय शिक्षासँगै स्वअध्ययन र अनुभवबाट प्राप्त ज्ञानलाई समाज विकासको आधार मान्दै, पछिल्लो समय श्रव्य–दृश्य सामग्रीको बढ्दो प्रयोगका कारण कमजोर बन्दै गएको पठन बानीलाई पुनः सुदृढ बनाउने संकल्प गरिएको छ ।

घोषणापत्रमा विद्यालय र समुदायमा पठन संस्कृतिको विस्तार, बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकमा पुस्तकप्रतिको रुचि बढाउने, पुस्तकालय तथा वाचनालयको पहुँच विस्तार गर्ने, स्थानीय लेखक–सर्जकलाई प्रोत्साहन गर्ने लगायत उद्देश्य समेटिएका छन् ।

साथै पठनमार्फत सामाजिक सद्भाव, सहिष्णुता र सकारात्मक सोच प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

विद्यालयमा पठन कार्यशाला, पालिकामा पुस्तकालय

अभियानअन्तर्गत विद्यालयस्तरमा महिनामा कम्तीमा एकपटक पठन अभ्यास कार्यशाला सञ्चालन गरिने, प्रत्येक पालिकामा कम्तीमा एउटा सुविधासम्पन्न पुस्तकालय स्थापना वा भएका पुस्तकालयको सुदृढीकरण गरिने उल्लेख छ ।

त्यस्तै, कार्यालयहरूमा मिनी लाइब्रेरी स्थापना, जिल्लास्तरमा पुस्तक प्रदर्शनी, लेखक भेटघाट, वाचन प्रतियोगिता तथा लेखन सीप कार्यशालाजस्ता कार्यक्रम वर्षभर सञ्चालन गरिनेछ ।


डिजिटल माध्यममार्फत ई–पुस्तक, अडियोबुक र अनलाइन सामग्रीको पहुँच विस्तार गर्ने, “एक घर, एक पुस्तक” अभियान सञ्चालन गरी प्रत्येक व्यक्तिले वर्षमा कम्तीमा एउटा पुस्तक पढ्ने संकल्प गर्ने, लेखक सम्मान तथा उपहारमा पुस्तक दिने संस्कार विकास गर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ ।

सामाजिक आन्दोलनको लक्ष्य

अभियान सफल भएमा झापामा पठन संस्कृति सामाजिक आन्दोलनका रूपमा स्थापित हुने, बालबालिकामा सृजनशीलता र आलोचनात्मक सोचको विकास हुने, युवामा नेतृत्व क्षमता र सकारात्मक दृष्टिकोण अभिवृद्धि हुने तथा समाजमा ज्ञान र सद्भावको वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।

अभियानकर्मीहरूले ‘पठन संस्कृति वर्ष २०२६’ केवल कार्यक्रम मात्र नभई झापाको भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् ।


साथै नेपाल सरकारलाई यस अभियानलाई सरकारी अभियानकै रूपमा घोषणा गर्न मागसमेत गरिएको छ ।