‘सबैलाई बाँच्ने अधिकार छ’ र ‘मानव कल्याणका लागि एक छाक ति गरिब निमुखालाई’ भन्ने मानवीय नाराका साथ केजीएफ (KGF) नामक संस्थाले यो अभियान अघि सारेको हो ।
अभियानका संयोजक विक्रम सुब्बाका अनुसार आर्थिक अभावकै कारण एक छाक खान नपाउने अवस्था अन्त्य गर्ने उद्देश्यले न्यूनतम शुल्क पाँच रुपैयाँ मात्र निर्धारण गरिएको हो ।
उक्त अभियान सञ्चालनका लागि मिसन झापा स्वयंसेवी समूहले भोलेन्टियर्सको भूमिका निर्वाह गर्ने जनाएको छ ।
मिसन झापाका संयोजक माधव झाले समाजका सबै वर्ग, संघसंस्था, व्यवसायी तथा सर्वसाधारणलाई अभियान सफल बनाउन सहयोग र सहकार्यका लागि अपिल गर्नुभएको छ ।
उहाँका अनुसार यो अभियान केवल खाना वितरणमा सीमित नभई सामाजिक सहानुभूति र मानवताको सन्देश प्रवाह गर्ने माध्यमसमेत हो ।
संस्कार, संस्कृति, खेलकुद, कृषि, पशुपंक्षी संरक्षण तथा मानव सेवा जस्ता क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको केजीएफ संस्थाले उक्त अभियानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ ।
संस्थाले आर्थिक सहयोग, खाद्यान्न, भाँडाकुँडा तथा स्वयंसेवकका रूपमा सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई खुला रूपमा सहभागी हुन आग्रह गरेको छ ।
अभियानबारे विस्तृत जानकारी दिन आयोजक संस्थाले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनसमेत आयोजना गरेको थियो ।
सम्मेलनमा बोल्दै आयोजकहरूले समाजमा बढ्दो महँगी र गरिबीका कारण धेरै नागरिक एक छाक खानबाट वञ्चित भइरहेकाले यस्तो अभियान समयसापेक्ष र अत्यावश्यक भएको धारणा व्यक्त गरेका थिए ।
स्थानीय बासिन्दाले पनि पाँच रुपैयाँमै भरपेट खाना खुवाउने अभियानलाई मानवीय र उदाहरणीय कार्यको रूपमा स्वागत गर्दै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।














