झापा, बुद्धशान्ति–१ मा अवस्थित त्रिभुवन माध्यमिक विद्यालय, होक्सेको ६९औँ वार्षिकोत्सव समारोह, सालिक अनावरण, स्मारिका विमोचन तथा अभिभावक दिवस २०८२ अन्तर्गत पहिलो तथा उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ।
 
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्ग बहादुर तिमिल्सिनाको अध्यक्षता तथा  प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं रहनुभएको थियो। 
 
 विद्यालयका प्रधानाध्यापक तारानिधि वाग्लेले  स्वागत गर्नुभएको कार्यक्रममा वडा नं. १ का अध्यक्ष तथा पालिका प्रवक्ता अनिल वाग्ले, पूर्व राजदूत नारद वाग्ले, समीक्षक तथा लेखक प्राध्यापक डा. गङ्गा प्रसाद अधिकारी, नेपाल राष्ट्रिय अभिभावक सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुन्दर बाबु श्रेष्ठ लगायत विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

IMG_0144
प्रमुख अतिथि प्रसाईंले ब्यानर पढेर उद्घाटन गर्दै कार्यक्रमको औपचारिक उदघाटन गर्नुभएको थियो भने सोही अवसरमा विद्यालय स्थापना गर्न बहुमूल्य जग्गा दान गरी महत्वपूर्ण योगदान पुर्‍याउनु भएका स्वर्गीय जग्गादाता बृखबहादुर लुम्रे मगर र कुलबहादुर बुढाथोकीको अर्धकदको सालिक अनावरण गरिएको छ। साथै अन्य दाताहरू देवीमाया भट्टराई बराल, पुरन बराल, पहलमान बराल र धनपति सङ्ग्रौलाको नाम सम्मानस्वरूप शिलालेखमा उल्लेख गरिएको छ।

वि.सं. २०१४ सालमा स्थापित विद्यालयको स्थापना कालदेखि हालसम्मका आरोह–अवरोह तथा विविध गतिविधिहरू समेटेर प्रकाशन गरिएको विद्यालयको स्मारिका समेत कार्यक्रममा विमोचन गरिएको थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्ग बहादुर तिमिल्सिनाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बिधालयको  शैक्षिक तथा ब्यवस्थापकिय  बिषयमा प्रकाश पार्नुभएको थियो भने प्रमुख अतिथि मनोज प्रसाईं, पूर्व विद्यार्थीसमेत रहनुभएका वडा अध्यक्ष अनिल वाग्ले, पूर्व राजदूत नारद वाग्ले, प्राध्यापक डा. गङ्गा प्रसाद अधिकारी, सुन्दर बाबु श्रेष्ठ लगायतले विद्यालयले संस्थापक तथा दाताहरूलाई गरेको सम्मान, प्रकाशित स्मारिका तथा विद्यालयका गतिविधिहरूको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

IMG_0159
शिक्षक रामचन्द्र अधिकारीले सञ्चालन गर्नुभएको प्रथम दिवसीय उद्घाटन कार्यक्रममा विद्यालयका पूर्व शिक्षक–शिक्षिका, पूर्व विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
दुई दिवसीय कार्यक्रम अन्तरगत  विद्यालयको ६९ औँ वार्षिक उत्सव भोलि विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै सम्पन्न हुने विद्यालयले जनाएको छ।