झापाको बुद्धशान्ति–१, होक्सेस्थित त्रिभुवन माध्यमिक विद्यालयको ६९औँ वार्षिकोत्सव, सालिक अनावरण, स्मारिका विमोचन तथा अभिभावक दिवस–२०८२ अन्तर्गत दोस्रो तथा समापन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्गबहादुर तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष अनिल वाग्ले सहभागी रहनुभएको थियो। कार्यक्रमको सुरुवात विद्यार्थीहरूले प्रस्तुत गरेको आकर्षक सांगीतिक स्वागत नृत्यबाट गरिएको थियो। समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको छ।
संस्थापक कमलराज कोइरालाद्वारा स्थापित रम्भादेवी अस्मित कोइराला स्मृति छात्रवृत्तिबाट शैक्षिक सत्र २०८१ मा उत्कृष्ट चार जना छात्रछात्रालाई जनही रु. ३,००५ का दरले पुरस्कृत गरिएको विद्यालयले जनाएको छ। त्यस्तै, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता आदित्य गुरुङ, अर्चना घिमिरे, साजन रसाइली र युनिस बस्नेतलाई जनही रु. १,००० तथा रजत र कास्य पदक विजेताहरूलाई जनही रु. ५०० नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको छ। सामुदायिक अक्षयकोषबाट प्रदान गरिने पुरस्कारअन्तर्गत शैक्षिक सत्र २०८१ मा प्रत्येक कक्षामा उत्कृष्ट हुने २२ जना छात्रछात्रालाई जनही रु. १,००० तथा सम्मानपत्र प्रदान गरिएको छ।

यसै अवसरमा विद्यालयका शिक्षक रामचन्द्र अधिकारी र उहाँकी धर्मपत्नी चन्द्रकला सुवेदी अधिकारीले अक्षयकोष स्थापनाका लागि रु. १०,००० विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ। साथै उहाँकै माता पदमावती अधिकारीले पनि अक्षयकोषका लागि रु. १०,००० सहयोग प्रदान गर्नुभएको विद्यालयले जनाएको छ।
कार्यक्रममा पूर्वविद्यार्थी तथा जिल्ला समन्वय समिति सदस्य रिता दर्नाल, सल्लाहकार संयोजक मोहनप्रसाद तिम्सिना, अक्षयकोष दाता कमलराज कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। शिक्षक रामचन्द्र अधिकारी र तिलचन ढुङ्गेलद्वारा सञ्चालन गरिएको समापन समारोहमा पूर्वविद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले सांगीतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने शिक्षक रबिन मैनाली र टीका कार्कीले पनि सांगीतिक प्रस्तुति दिनुभएको थियो। दुईदिने कार्यक्रमअन्तर्गत सम्पन्न विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।















