कतार जान काठमाडौँ आएका झापाको हल्दीबारी गाउँपालिका–४ मंगलबारेका ४१ वर्षीय नवीन मुर्मु नयाँ बसपार्कस्थित लुम्बिनी गेस्ट हाउसको कोठामा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार गेस्ट हाउसमा बसेका मुर्मु बिहीबार राति आफूलाई अस्वस्थ भएको भन्दै कोठामै खाना मगाएर सुतेका थिए। तर शुक्रबार बिहानसम्म नउठेपछि होटल कर्मचारीले कोठा जाँच गर्दा उनी ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए।

घटनापछि होटलले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले मुर्मुको मोबाइल फोनको आधारमा परिवारसँग सम्पर्क गरेको जनाएको छ।

परिवारका अनुसार मुर्मु विगत करिब १० वर्षदेखि कतारमा रोजगारी गर्दै आएका थिए र शनिबारको उडानबाट पुनः कतार फर्कने तयारीमा काठमाडौँ पुगेका थिए।

प्रहरीले मुर्मुको मृत्युको कारण खुल्न नसकेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।