काठमाडौं, चैत २ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा नयाँ मूल्यसूची कायम गरेको छ। निगमले स्वचालित मूल्य प्रणाली अनुसार तराई, भित्री मधेश र पहाडी क्षेत्रका लागि छुट्टाछुट्टै दर निर्धारण गरेको हो।
नयाँ दररेट अनुसार दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ पुगेको छ।
साथै, यी क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको छ।
यसैगरी, पहिलो वर्ग अन्तर्गतका तराईका जिल्लाहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा तोकिएको छ।
यी क्षेत्रमा डिजेल र मट्टीतेल भने १४९ रुपैयाँ ५० पैसामा पाइनेछ।
काठमाडौं, पोखरा र दिपायल जस्ता तेस्रो वर्गमा पर्ने शहरहरूमा भने अन्य क्षेत्रको तुलनामा मूल्य केही महँगो पर्ने निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढावका कारण नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ।














